रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरवासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य नगरवासीको सुविधाका लागि नगरपालिकाले उक्त अभियान चलाउन लागेको हो ।
नगर कार्यपालिकाको ८०औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालनका लागि उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्णप्रसाद पौडेल र नारायण न्यौपाने सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानोयुक्त घरको लगत संकलनपछि वडा समितिको निर्णयअनुसार सिफारिश भइआएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउने लगायत काम गर्नेछ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर भए पनि नगरलाई खरको छानोमुक्त बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । तिलोत्तमामा अझै पनि ठूलो संख्यामा खरको छानो भएका घरहरू छन् । सामुदायिक विद्यालयमा दिवा खाजा, रगतको सेवाशुल्क भुक्तानी, दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान, पशुबीमामा अनुदान, गहुँ, मकै तथा तरकारीको बीउमा अनुदानलगायत कार्यक्रम चलाउँदै आएको तिलोत्तमाले पछिल्लो कार्यपालिका बैठकबाट खरको छानो भएका नगरवासीलाई जस्तापाताको ओतमा ल्याउने निर्णय गरेको हो ।
‘नगरपालिकाभित्रका निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित गरेर अभियान शुरू गर्न लागेको हौं,’ नगर प्रमुख वासुदेव घिमिरेले भने । खरको छानो हुँदा आगलागीको जोखिम पनि धेरै भएकाले नगरवासीलाई टिनको छानोको प्रबन्ध मिलाउन लागिएको उनको भनाइ छ । नगरक्षेत्रमा रहेका खरको छानो भएका घरको अध्ययन गरी आवश्यकता अनुसार टिन उपलब्ध गराइने उनले बताए । यसैबीच, तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्न हात मिलाउनुको साटो नमस्कार गर्ने संस्कृति अनुसरण गर्न नगरवासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजना स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरू दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसियन डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतीप्रसाद पौडेल छन् ।
बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं १७ स्थित बीपी ग्रामलाई प्रयोगमा ल्याउन सकिने ठहर गर्दै त्यहाँ आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।