नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर डिग्री लिन पाउने भएका छन् । नेपालमै बसेर रोजगारीसँगै औपचारिक शिक्षा लिन चाहनेका लागि खुला विश्वविद्यालय नयाँ विकल्प बनेको छ । पहिले औपचारिक कक्षामा सहभागी नभई भारतीय विश्वविद्यालयबाट मात्रै अध्ययन सुविधा थियो । तर, हाल नेपालमै पहिलोपटक नेपाल खुला विश्वविद्यालयले विभिन्न्न सङ्कायमा पढाइ सञ्चालन गरिरहेको छ ।
२ वर्षअघि स्थापित नेपाल खुला विश्वविद्यालयले प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पीएचडीसम्मको डिग्री सञ्चालन गरिरहेको छ । यसैगरी राजधानीमा भारतीय विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित विभिन्न इन्ष्टिच्युटले पनि स्नातक र स्नातकोत्तर तह बढ्ने सुविधा दिएका छन् । यस्ता इन्ष्टिच्युटहरूले इन्दिरा गान्धी खुला विश्वविद्यालय, सिक्किम मणिपाल विश्वविद्यालय र कर्णाटका विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् । यसरी खुला विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले दूरशिक्षा विधिबाट आफूले चाहेको विषयमा डिग्री प्राप्त गर्न सक्नेछन् ।
नेपाल खुला विश्वविद्यालयले विभिन्न सात सङ्कायमा पढाइ सञ्चालन गरेको छ । यद्यपि, अहिले व्यवस्थापन, कानून, सामाजिक शास्त्र र शिक्षा सङ्कायमा मात्र पढाइ भइरहेको छ । त्यसैगरी उक्त विश्वविद्यालयमा विज्ञान, स्वास्थ्य र प्रविधि सङ्काय पनि स्थापना हुँदै छ । यी सङ्कायमा प्राविधिक तथा व्यावसायिक शीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययन हुने विश्वविद्यालयले बताएको छ ।
ललितपुरको मानभवनस्थित नेपाल खुला विश्वविद्यालयले २९ फागुन २०७४ मा पहिलोपटक एमफिल तहमा पनि भर्ना खोलेपछि उच्चशिक्षाका लागि खुला विश्वविद्यालय नयाँ गन्तव्य बनेको हो । यसबाहेक इन्दिरा गान्धी विश्वविद्यालयको खुला शिक्षा नीतिअनुसार खुलेको इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीको काठमाडौं शाखाबाट पनि विभिन्न सङ्कायमा अध्ययन गर्न सकिन्छ । इन्दिरा गान्धी विश्वविद्यालयमा विश्वका अधिकांश मुख्य विषयको अध्ययन गर्ने सुविधा छ । सिक्किम मणिपाल विश्वविद्यालय, कर्णाटका विश्वविद्यालय र पञ्जाब प्राविधिक विश्वविद्यालयले पनि काठमाडौंमा प्राविधिक विषयको पढाइ सञ्चालन गरिरहेका छन् ।
के हो खुला विश्वविद्यालय ?
सामान्यतया विश्वविद्यालयमा कुनै पनि कोर्स पूरा गर्न निश्चित समय तोकिएको हुन्छ । त्यस्तै, कुनै पनि तहको अध्ययनका लागि निश्चित मापदण्ड निर्धारण गरिएको हुन्छ । खुला विश्वविद्यालयमा भने भर्नादेखि अध्ययन गर्ने समय र अध्ययन–अध्यापन गराउने तरीका फरक हुन्छ । विद्यार्थीले निश्चित समयमा लागि र आवश्यक परेको बेला मात्र कलेज गए पुग्छ । सन् १९६० मा बेलायतबाट खुला विश्वविद्यालयको शुरुआत भएको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारणा ल्याएका थिए । बेलायतमा सोही अवधारणाअनुरूप सन् १९६९ मा खुला विश्वविद्यालय स्थापना भयो । खुला विश्वविद्यालयको भर्नासम्बन्धी आफ्नै नीति छ । आफूले विश्वविद्यालयले तोकेको कुनै पनि कोर्स अध्ययन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाहरूले अध्ययन गर्न सक्छन्, जसमा भर्ना हुनुपूर्व तोकिएको निश्चित मापदण्डमा उत्तीर्ण भए मात्र पुग्छ । जस्तै– एसएलसी पास गरेको विद्यार्थीले विभिन्न कारण अध्ययन गर्न पाएको छैन भने पनि सीधै खुला विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछ । तर, नेपालमा भने तहगत रूपमा अध्ययन गरेपछि मात्र स्नातक तहमा भर्ना हुन पाउने प्रावधान छ ।
अन्य विश्वविद्यालयमा जस्तै खुला विश्वविद्यालयमा पनि कोर्सअनुसार निश्चित समय तोकिएको हुन्छ । तर, विद्यार्थीले तोकिएको समयमा अध्ययन पूरा गर्न नसके केही समयपछि पुनः परीक्षा दिन पाउँछ । कसैले उक्त कोर्स तोकिएको समयभन्दा पहिले नै पूरा गर्न सकेमा उसको इच्छाअनुसार कोर्स पूरा गर्न पनि पाउँछ । यस्तो विश्वविद्यालयबाट उत्तीर्ण हुने कुनै पनि विद्यार्थीलाई विश्वको कुनै पनि कलेज तथा विश्वविद्यालयमा सोहीअनुसारको मान्यता दिन्छ । आधुनिक प्रविधिको प्रयोगले पढाइ हुने भएकाले पनि खुला विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी अरूभन्दा बढी सृजनशील हुन सक्छन् । यसैले नेपालजस्तो देशमा अध्ययनलाई निरन्तरता दिन नसकेका लाखौं विद्यार्थीले खुला विश्वविद्यालयलाई आफ्नो उच्च शिक्षाको विकल्पको रूपमा लिन सक्छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.