आजको प्रविधिमय युगमा शिक्षाका लागि शिक्षण संस्था नै जानुपर्ने बाध्यता छैन । अचेल इण्टरनेट र अन्य प्रविधिको उपयोग गरी जुनसुकै स्थानमा बसेर उच्च शिक्षा अध्ययन गर्न सकिन्छ । नेपालमै बसेर रोजगारीसँगै औपचारिक शिक्षा लिन चाहनेका लागि खुला विश्वविद्यालय नयाँ विकल्प बनेको छ ।
नेपालमा भारतीय विश्वविद्यालयसँगै नेपाल खुला विश्वविद्यालयले विभिन्न्न संकायमा पढाइ सञ्चालन गरिरहेको छ । नेपाल खुला विश्वविद्यालयले प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पीएचडीसम्मको डिग्री सञ्चालन गरिरहेको छ । यसमध्ये स्नातकोत्तर तहमा अध्ययन गर्नेको संख्या बढी छ । स्नातक तहको अध्ययनपछि कुनै न कुनै रोजगारीमा संलग्न हुनुपर्ने नेपालीको बाध्यताका कारण पनि यो तहमा पढ्नेको संख्या बढेको हो ।
यसैगरी भारतीय विश्वविद्यालयबाट सम्बन्धन लिएर राजधानीमा विभिन्न इन्स्टिच्युटले स्नातक र स्नात्तकोत्तर तहमा पढाइ सञ्चालन गरेका छन् । इन्दिरा गान्धी खुला विश्वविद्यालय, सिक्किम मणिपाल विश्वविद्यालय र कर्णाटका विश्वविद्यालयले काठमाडौंमा विश्वविद्यालयका कोर्स सञ्चालन गरिरहेका हुन् । यसरी खुला विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले दूरशिक्षा विधिबाट आफूले चाहेको विषयमा डिग्री प्राप्त गर्न सक्नेछन् ।
नेपाल खुला विश्वविद्यालय अहिले व्यवस्थापन, कानून, सामाजिक शास्त्र र शिक्षा संकायमा मात्र पढाइ भइरहेको छ । यद्यपि, उक्त विश्वविद्यालय विभिन्न सातओटा विषय–क्षेत्रमा पढाइ सञ्चालन गर्ने तयारीमा छ । विश्वविद्यालयमा हाल स्नात्तकोत्तर तहमा एमबीए (मास्टर्स इन बिजिनेश एडमिनिस्टे«शन) र एमएसडीएमजी (मास्टर्स अफ साइन्स इन डेभलपमेन्ट, म्यानेजमेन्ट एन्ड गभर्नेन्स) पढाइ भइरहेको छ । यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकायको पनि स्थापना हुँदै छ । यी संकायमा प्राविधिक तथा व्यावसायिक शीपदेखि ‘पियोर साइन्स’का विषयसम्म अध्ययनको व्यवस्था हुने विश्वविद्यालयले बताएको छ । ललितपुरको मानभवनमा रहेको उक्त विश्वविद्यालयले २०७४ फागुन अन्तिममा पहिलोपटक एमफिल तहमा पनि भर्ना खोलेको थियो । यससँगै यो विश्वविद्यालय उच्च शिक्षाका लागि नयाँ गन्तव्य बनेको हो ।
यसबाहेक इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीको काठमाडौं शाखाबाट पनि विभिन्न संकायमा अध्ययन गर्न सकिन्छ । उक्त विश्वविद्यालयमा विश्वका अधिकांश मुख्य विषयको अध्ययन गर्ने सुविधा छ । सिक्किम मणिपाल विश्वविद्यालय, कर्णाटका विश्वविद्यालय, पञ्जाव प्राविधिक विश्वविद्यालयले पनि काठमाडौंमा प्राविधिक विषय सञ्चालन गरिरहेका छन् ।
खुला विश्वविद्यालयको अवधारणा र इतिहास सन् १९६० मा बेलायतबाट खुला विश्वविद्यालयको शुरुआत भएको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ मा यसको अवधारणा ल्याएका थिए । बेलायतमा सोही अवधारणाअनुरूप सन् १९६९ मा खुला विश्वविद्यालयको स्थापना भयो । खुला विश्वविद्यालयको भर्ना सम्बन्धी आफ्नै नीति छ । आफूले विश्वविद्यालयले तोकेको कुनै पनि कोर्स अध्ययन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाहरूले अध्ययन गर्न सक्छन्, जसमा भर्ना हुनुपूर्व तोकिएको निश्चित मापदण्डमा उत्तीर्ण भए मात्रै पुग्छ । जस्तै– एसएलसी पास गरेको विद्यार्थीले विभिन्न कारण अध्ययन गर्न पाएको छैन भने पनि सीधै खुला विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछ । तर, नेपालमा भने तहगत रूपमा अध्ययन गरेपछि मात्र स्नातक तहमा भर्ना हुन पाउने प्रावधान छ ।
सामान्यतया विश्वविद्यालयमा कुनै पनि कोर्स पूरा गर्न निश्चित समय र निर्धारण गरिएको हुन्छ । त्यस्तै, कुनै पनि तहको अध्ययनका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । खुला विश्वविद्यालयमा भने अध्ययन गर्ने समय र अध्यापन विधि फरक हुन्छ । विद्यार्थीले निश्चित समयमा लागि र आवश्यक परेमा मात्रै कलेज गए पुग्छ ।
अन्य विश्वविद्यालयमा जस्तै खुला विश्वविद्यालयमा पनि कोर्सअनुसार निश्चित समय तोकिएको हुन्छ । तर, विद्यार्थीले तोकिएको समयमा अध्ययन पूरा गर्न नसके केही समयपछि पुनः परीक्षा दिन पाउँछ । कसैले उक्त कोर्स तोकिएको समयभन्दा पहिले नै पूरा गर्न सकेमा उसको इच्छाअनुसार कोर्स पूरा गर्न पनि पाउँछ । यस्तो विश्वविद्यालयबाट प्राप्त डिग्रीलाई विश्वको कुनै पनि कलेज तथा विश्वविद्यालयमा सोही अनुसारको मान्यता दिइन्छ । आधुनिक प्रविधिको प्रयोगबाट पढाइ हुने भएकाले खुला विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी तुलनात्मक रूपमा बढी सृजनशील समेत हुन्छन् ।