विराटनगर। विराटनगर महानगरपालिकाको आम्दानी खुम्चिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नहुँदा विकास निर्माणसमेत प्रभावित बन्न पुगेको छ । विराटनगर महानगरले चालू वर्षको ६ महीनामा पनि लक्ष्यको ३३ प्रतिशतमात्र आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा रू. ३ अर्ब २८ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको महानगरले पुस मसान्तसम्ममा रू. १ अर्ब ८ करोड ६८ लाखमात्र आम्दानी भएको नगरसभाको १३औं अधिवेशनमा उपप्रमुख शिल्पा कार्की निरालाले प्रस्तुत गरेको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
चालू आवको ६ महीनामा रू. २१ करोड ७ लाख महानगरको आन्तरिक आय छ । जुन लक्ष्यको २३ प्रतिशत मात्र हो । चालू आवमा महानगरले रू. ८९ करोड ५० लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको छ । गत आवमा रू. १ अर्ब आन्तरिक आय गर्ने लक्ष्य राखेको महानगरले रू. ४९ करोड मात्र संकलन गरेको थियो ।
चालू आवको ६ महीनामा रू. २१ करोड ७ लाख महानगरको आन्तरिक आय छ । जुन लक्ष्यको २३ प्रतिशत मात्र हो । चालू आवमा महानगरले रू. ८९ करोड ५० लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको छ ।
गतवर्ष महानगरको आन्तरिक आम्दानीले नपुगेपछि वित्तीय हस्तान्तरणको बजेटले आन्तरिक कर्मचारीलाई तलब खुवाएको थियो । करीब चार सय करारका कर्मचारी रहेको महानगरमा कर्मचारीको तलब र प्रशासनिक खर्च मात्रै वार्षिक ६२ करोडभन्दा बढी छ ।
लक्ष्य अनुसारको आन्तरिक आय गर्न नसक्दा र सरकारी वित्तीय हस्तान्तरण पनि लक्ष्यअनुसार नहुँदा महानगरमा विकास निर्माणका काम प्रभावित हुँदै आएका छन् । विराटनगर महानगर घोषणा कालदेखि नै लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्न असक्षम देखिएको छ । महानगर घोषणा हुँदाको वर्षदेखि नै आन्तरिक आय रू. १ अर्ब गर्ने लक्ष्य राख्दै आएको महानगरले लक्ष्यका आधा पनि आन्तरिक आय गर्न सकेको छैन । शुरूको वर्ष रू. १ अर्ब आन्तरिक आय गर्ने लक्ष्य राख्दा रू. ३९ करोड र गतवर्ष रू. १ अर्ब नै लक्ष्य हुँदा ४९ करोड मात्र आन्तरिक आय गरेको थियो । जबकी महानगर हुनका लागि कम्तीमा रू. १ अर्ब आन्तरिक आय हुनुपर्ने प्रावधान छ ।
चालु वर्षको ६ महिनामा यो महानगरले १ अर्ब ३ करोड १६ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये पूँजीगततर्फ रू. ३८ करोड ६७ लाख र चालूतर्फ रू. ६२ करोड १५ लाख खर्च भएको छ । महानगरले आयको करीब ६० प्रतिशत रकम चालू तथा प्रशासनिक तर्फ र करीब ३९ प्रतिशत खर्च पूँजीगततर्फ गरेको उपप्रमुख कार्कीले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
राजस्व बाँडफाँटबाट ७० करोड २५ लाख आम्दानी हुने अनुमान गरेको महानगरले १३ करोड ४२ लाखमात्र प्राप्त गरेको छ । यो १९ प्रतिशतमात्र हो । त्यसैगरी आन्तरिक सरकारी वित्तीय हस्तान्तरणमा संघीय सरकारबाट रू. १ अर्ब १९ करोड २४ लाख अनुमान गरिएकोमा रू. ६७ करोड ८८ लाख ६४ हजारमात्र हात लागेको आर्थिक विवरणमा उल्लेख छ ।
प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ पुससम्ममा रू. ४ करोड ६६ लाख ३३ हजार अनुमान गर्दा रू. १ करोड २९ लाख ३४ हजार र जनसहभागिताबाट रू. ८ करोड ७९ लाख ३४ हजार जुट्ने अनुमान गर्दा रू. ९४ लाख ४७ हजार मात्र जुटेको छ ।