रोल्पा । नयाँ सडक खन्ने क्रममा सिँचाइ कुलो पूर्णरूपमा क्षति भएपछि रोल्पा नगरपालिका–५ बाजबाङका किसानलाई सिँचाइमा समस्या भएको छ ।
किमीचौर–माडीचौर सडकको ट्र्याक खोल्ने क्रममा माडीखोलाबाट बाजाबाङ गाउँमा जाने तीनओटा सिँचाइ कुलोमा क्षति पुगेको छ । सडकले क्षति पुर्याएको ओडार्ने सिँचाइ कुलो, सेसिघाट सिँचाइ कुलो र धाङकुना सिँचाइ कुलो वर्षौंदेखि बन्द अवस्थामा छन् ।
सिँचाइ कुलो पुनर्निर्माण हुन नसक्दा झन्डै १५ हेक्टर जमिनमा सिँचाइ समस्या रहको किसानको गुनासो छ । सबैभन्दा माथिल्लो भागमा रहेको धाङकुना सिँचाइ आयोजना निर्माणका लागि प्रदेश सरकारको बजेटमा समावेश भए पनि पछिल्लो सरकारले गरेको बजेट संशोधनमा काटिएको थियो । ‘तत्कालीन शंकर पोख्रेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार हुँदा ४० लाख बजेट परेको थियो,’ स्थानीय गंगाराम रावतले भने, ‘तर कुलप्रसाद केसी नेतृत्वको सरकार आएपछि बजेट संशोधनका क्रममा उक्त बजेट काटियो ।’
सिँचाइ आयोजना निर्माणका लागि पहल भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाका प्रमुख भेषराज भुसालले बताए । ‘सडकको नयाँ ट्र्याक खन्दा सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश ठाउँमा सिँचाइ आयोजनामा क्षति पुगेको छ,’ भुसालले भने, ‘गतवर्ष उक्त आयोजनाका लागि प्रदेश सरकारमा सिफारिश गरेका थियौं ।’ बजेटमा पनि समावेश भए पनि संशोधनका क्रममा काटिएकाले आयोजना निर्माणमा समस्या भएको सिँचाइ कार्यालयले बताएको छ ।