फागुुन १३, रुपन्देही । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर रुपन्देहीको पूर्वाधार विकास र पर्यटन क्षेत्रमा पनि देखिएको छ ।
यहाँ निर्माणाधीन गौतमबुुद्ध अन्तरराष्ट्रिय विमानस्थल र बुुटवल–नारायणगढ सडकका चिनियाँ प्राविधिक कामदार चीनबाट फर्किन नसक्दा पूूर्वाधार निर्माणमा समस्या देखिएको हो । कोरोनाकै असरका कारण लुम्बिनीमा आउने बाह्य पर्यटकको संख्या पनि हवात्तै घटेको छ ।
नयाँ वर्ष मनाउन गएको समयमा कोरोना भाइरसको संक्रमण देखिएपछि चिनियाँ प्राविधिक तथा कामदार यहाँ फर्किन सकेका छैनन् ।गौतमबुुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुुख प्रवेश अधिकारीले कामदारहरु फर्किन नपाउँदा टर्मिनल भवन भित्रको कन्भेयर वेल्ट र धावनमार्गको लाइटहरु जडानको काम ठप्प भएको बताए ।
‘हामी उपकरण जडानको अन्तिम फेजमा थियौं’, उनले भने, ‘घर गएका कामदारहरु फर्किन पाएनन्, अन्य भौतिक संरचनाहरुको काम भइरहे पनि प्राविधिक क्षेत्रको काम ठप्प भएको छ ।’
विमानस्थल निर्माणमा कार्यरत ४५ कामदार मध्ये ३० जना चीनबाट आउन सकेका छैनन् । सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिए पनि काम नसकिंदा फेरि विमानस्थल निर्माणको म्याद तीन महीनाका लागि थपिएको छ ।
अहिलेकै अवस्था रहने हो भने फेरि थपिएको समयमा पनि विमानस्थल निर्माण पूूरा हुनेमा आशंका छ । हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजना प्रमुुख अधिकारी बताउँछन् ।
कोरोना भाइरसको महामारीपछि चीनले नेपालतर्फको हवाई र सडक यातायातमा रोक लगाउनुुका साथै सीमा नाका बन्द गरेको छ । शिलान्यास भएको झण्डै एक वर्ष पुुग्नै लाग्दा बल्ल काम शुरु हुन लागेको बुुटवल–नारायणगढ ६ लेन सडक विस्तारका कामलाई पनि कोरोना भाइरसले असर पुर्याएको छ ।
चिनियाँ मजदुरहरू फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले सडकको कामलाई अगाडि बढाएका छन् । अहिले बुटवलदेखि नारायणगढसम्मको कुल ११५ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।
सडक विस्तारको काम चाइना स्टेट इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले लिएको छ । सडक विस्तारको कामअन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८ दशमलव ५ किमी सडक एक खण्डमा छ । त्यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४ किमि सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम थालिएको छ ।
दुवै खण्डमा हालसम्म रुख कटानको काम भइरहेको छ । केही स्थानमा रूख कटानको काम सकिएको छ । बर्दघाटदेखि खैरहनीसम्मका रूख काटी सकिएको छ । खैरहनीबाट बुटवलसम्मका रुख काट्ने काम केही दिनमा शुरु हुने नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका सूचना अधिकारी इञ्जिनीयर युवराज पाण्डेले बताए ।
ड्रेन, पुलको काम पनि अघि बढाइएको छ । बिजुली र खानेपानीको पाईप व्यवस्थापनको काम पनि शुरु गरिएको छ । आयोजनामा व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार रहेको आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिकमा चिनियाँ नै छन् । नेपालमा आएपनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको पाण्डेले बताए ।
‘केही समस्या भएपनि शुुरुवाती चरण भएकाले ठूलो समस्या छैन, तर केही दिनपछि पनि फर्किएनन् भने समस्या हुन्छ’, उनले भने । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट शुरु भएको कोरोनाको संक्रमणले लुम्बिनीलाई पनि प्रत्यक्ष असर पुर्याएको बताए ।
उनले लुम्बिनी घुम्न आउने बाह्य पर्यटक ह्वात्तै घटेको जानकारी दिए । गत जनवरीमा जम्मा १३ हजारले मात्र लुम्बिनीको भ्रमण गरेका छन् । भारतले पनि नेपाल भारत सिमा नाका सुनौली, बेलहियामा पनि चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ ।