गतवर्षको तुलनामा यस वर्ष कृषकहरूले कफीको मूल्य १८ प्रतिशतसम्म बढी पाउने भएका छन् । आठौं कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष कफीको खरीद मूल्य बढाएको हो । यस वर्ष ताजा चेरी कफीको अधिकतम मूल्य प्रतिकिलो रू. ४० तोकिएको छ भने न्यूनतम २० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक रमण पाठकले जानकारी दिए । गतवर्षको तुलनामा अहिलेको अधिकतम मूल्य प्रतिकेजी पाँच रुपैयाँ बढी हो ।
त्यसैगरी, बोर्डले यस वर्षका लागि पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो रू. २ सयदेखि २ सय ५० निर्धारण गरेको छ । गतवर्ष सो कफीको अधिकतम मूल्य प्रतिकेजी १ सय ७० रुपैयाँ थियो । उद्योगीहरूले किसानसँग बोर्डले तोकेको मूल्यमा कफी खरीद गर्नुपर्ने पाठकले बताए । नेपालमा विगत ५ वर्षदेखि सरकारी स्तरबाट कफीको मूल्य निर्धारण हुँदै आएको छ । कृषकको लागत मूल्यलाई आधार मान्ने हो भने यो मूल्य अझ बढी हुन जान्छ । पाठकले भने, ‘यो न्यूनतम मूल्य हो ।’ उनका अनुसार बोर्डले तोकेको मूल्यभन्दा महँगोमा पनि कृषकले कफी विक्री गरेका छन् ।
वर्ष ८, अंक ६३, बुधवार ६ मङ्सिर, २०६९