धेरै नेपाली रोगी छन् । अस्पतालहरूमा भिडले त्यै देखाउँछ । यसको मतलव नेपाल रोगी छ । रोगी भएपछि काम गर्न सक्दैन । नेपालले काम गर्न सकेको छैन । मानिस रोग लागेपछि उपचार खोज्छन् । तर नेपालको उपचार चाहिँ कसले खोज्ने ? नेतालाई आफ्नै उपचारबाहेक अरूको चिन्ता छैन । तपाईंले सुन्नुभएकै छ निमोनिया, प्रेसर, मुटुरोग, क्यान्सर आदिबाट मानिशहरूले अकालमा ज्यान गुमाएको कुरा । तर हिजोआज त त्योभन्दा कयौं गुणा बढी आर्थिक बिमारीका कारण मानिस थला पर्ने गरेका छन् ।
अरूभन्दा आर्थिक बिमारी डरलाग्दो हुने रहेछ । यो सबै रोगको जननी हो, सबै शोकको पोषक हो । अब राजनीतिक बिमारीको त यहाँ चर्चा गरिसाध्यै छैन । किनकि छिनछिनमा कुन नेतालाई के हुन्छ, सरकारलाई के रोग लाग्छ, कतिखेर सरकार बन्छ, कतिखेर गिर्छ, मन्त्री र नेताहरूलाई समेत पत्तो हुँदैन ।
धेरैजसो रोगको कारण हुन्छ भाइरस । तर आर्थिक बिमारीको भाइरस चाहिँ कर र ब्याजदर हो । यो कररूपी भाइरस कस्तो हुन्छ, कत्रो हुन्छ, कसरी फैलन्छ, कसरी थला पार्छ भनेर भनिसाध्य छैन । संघीयता आएयता यो देशमा तरह तरहका करका बिमारी ह्वात्तै बढेका छन् । त्यसैले यता उता जताबाट भए पनि करै कर लिने संघीयताको नाम नै फेरेर ‘करयता’ राखिदिए हुने हो ।
कर रोगको असर भने मान्छे अनुसार फरक हुन्छ । यसले कसैलाई सताउँछ, कसैलाई सुताउँछ, कसैलाई माथि उठाउँछ । कसैलाई सिध्याउँछ कसैलाई बनाउँछ । यसका प्रकार र प्रसारको गति गनिसाध्य छैन । यसले पारेको दुर्दशा भनिसाध्यै छैन । उदाहरणका लागि, मानौं तपाईंले एउटा गाडी किन्नुभयो भने भन्सार, सडक दस्तुर, हरेक पटक पेट्रोलियममा कर, बुढीगण्डकीका लागि कर, हरेक वर्ष सो गाडीको नवीकरण, प्रदूषण कर लगायतका अनेक पत्रे, अनेक नामका शुल्क र करहरू सरकारहरूलाई तिरिरहनुपर्छ । यति धेरै तिर्नुपर्ने भएपछि कोही कसरी बाँच्न सक्छ र ?
अहिले त देशैभरि करको भन्दा बैंकको साँवा र ब्याजको डरले धेरैलाई बिरामी बनाएकोदेखिन्छ । बढी ब्याजको जोशले सहकारीमा बचत गुमाएकाहरू र मिटरब्याजले होश गुमाएकाहरूलाई त झन् धेरै बिरामी बनाएको छ । खुर्सानी र प्याजको पिरो त के पिरो ? साँवा र ब्याजको पिरो धेरै गुणा चर्को हुँदो रहेछ ।
अरू रोग लागेमा आफूसँग दाम भए उपचार गर्ने ठाम त छन् । तर करको रोग लाग्यो भने उपचार पाउन गाह्रो छ । प्राकृतिक प्रकोप, दुर्घटना आदिले मानिस एकैचोटि ठहरै पनि हुन सक्छ । तर कर याने ट्याक्सको बिमारीले भने मानिस सुस्तरी सुस्तरी मरिरहेको हुन्छ । संघीयताका नाममा लादिएका तह तहमा लाग्ने अनेकखाले करका कारण मानिशहरू घिटिघिटी मर्नुभन्दा एकैचोटि मर्नु आनन्ददायक होला भन्नेमा पुगेका देखिन्छन् । त्यसैले त होला देशभरिका आधाजसो व्यवसायका सटरहरू बन्द गरिएका ।
अजीवको छ यो नेपालको कररोग । चिकित्सा विज्ञानमा यसको कुनै उपचार छैन । ठूलाभन्दा ठूला डाक्टरहरूलाई देखाउनुस्, उनीहरूलाई यो रोगको उपचारका विषयमा सोध्यो भने ‘मलाई थाहा छैन, बरु अडिटर वा चार्टर्ड एकाउन्टेन्टलाई देखाउनुस्’ भनेर पन्छिन्छन् । बिचरा चार्टर्ड एकाउन्टेन्टहरूले पनि के गरून् ? किनकि यो करको करकरबाट उनीहरू आफै पनि पीडित जो छन् । त्यसैले यो रोगको उपचार न एलोपेथी, न होमियोपेथी, न आयुर्वेद, युनानी, अकुपन्चर, न त नेचुरोथेरापीले वा धामी, झाक्रीले नै गर्न सक्ने देखिन्छ ।
करको कुरामा अचम्म चैं यो छ कि आफू सबैभन्दा धनी हुँ भनेर फुइँ लाउँदै हिँड्ने चाचा चौधरीलाई चैं यो करको बिमारी नजिकसम्म पनि पुग्न सकेका छैनन्, तर अर्बौं कर पनि तिर्ने र ‘म खुद्रे व्यापारी हुँ’ भनी हिँड्ने भाटभटेनीतिरका भैयालाई भने भ्याट नामक करले भ्याट भ्याट बनायो, जेलभित्रै पुर्यायो ।
कसैलाई करले त कसैलाई केवल करको डरले पनि मार्दो रहेछ । कत्तिलाई चैं एकदिन मर्नु नै छ भने व्यवसायको शिखरमा पुगूँ, पर्यो भने बरु सम्पत्ति करकै बिमारीबाट नै मर्न किन नपरोस्, नाम त आउँछ भन्ने पनि हुँदो रछ । तर त्यस्ता व्यक्ति चैं करले नभई रहरले अझ भोकमरीको कहरले चैं मर्ने रहेछन् । हुन पनि सानातिना वा कमन बिमारीले मर्नुभन्दा त ‘कर’ जस्तो इज्जतदार बिमारीले मर्नु बेजोड हुन्छ भन्ने कत्तिलाई लाग्दोे हो । त्यै भएर त जे गरेर भए पनि आत्मा र शरीरलाई दाउमा राखेर भए पनि धेरै धन जम्मा गर्ने दौडमा लागेका छन् केही मानिस ।
अनि करका कामकुरा चाहिँ सरकारबाट प्रतिपक्षमा पुग्दा र प्रतिपक्षबाट सत्तामा पुग्दा पूरै यूटर्न हुने रहेछ । प्रतिपक्षमा करको दरले बिगार्योे भन्नेहरू आफू सत्तामा गएपछि भने त्योभन्दा चर्को कर थपुवा भएर निस्कँदा रहेछन् । करका दर हेरफेर गर्नुपर्ने भएपछि अर्थको तार पनि मुसाले खाइदिँदो रहेछ, पुरानो दरलाई मज्जैले नचाइदिँदो रहेछ । बजेटमा छडमा र बिजुली गाडीमा के भयो तपाईंलाई थाहै छ नि ।
अहिले त देशैभरि करको भन्दा बैंकको साँवा र ब्याजको डरले धेरैलाई बिरामी बनाएको देखिन्छ । बढी ब्याजको जोशले सहकारीमा बचत गुमाएकाहरू र मिटरब्याजले होश गुमाएकाहरूलाई त झन् धेरै बिरामी बनाएको छ । खुर्सानी र प्याजको पिरो त के पिरो ? साँवा र ब्याजको पिरो धेरै गुणा चर्को हुँदो रहेछ ।
हो, अहिले नेपालीलाई अनेक प्रकारका आर्थिक बिमारीले सताइरहेको छ । एकथरी जीवित रहनैका लागि संघर्षरत छन् भने अर्कोथरी करमा चलखेल गरेर सम्पन्नता हासिल गर्ने प्रबन्धमा छन् । एकथरी आधारभूत जीवनस्तर पाउनैका लागि बिरामी छन् भने अर्कोथरी सात पुस्तालाई सम्पन्नता जोड्नमा बेचैन ।
आधुनिक अमेरिकाका निर्मातामध्ये एक राजनेता बेन्जामिन फ्रेंकलिनले ‘जीवनमा मृत्यु र करबाहेक केही निश्चित छैन’ भनेका थिए रे । त्यसैले कोही करसँग तर्सिन्छन् त कोही करसँग सम्बन्ध गाँस्छन् । कहिलेकाहीँ सोच्छु कि बिजुली, पानी, फोहोर व्यवस्थापन, आधारभूत शिक्षा र स्वास्थ्य उपचार नपाई घिटिघिटी मर्नुभन्दा बरु सम्पत्ति कमाएर धेरै करको बिमारीले मर्नु पो उत्तम हुन्छ कि ?
एकदिन मर्नु छँदै छ, मर्नै परेपछि खुट्टा तानेरै किन नमर्ने ? जीवनमा अभावको डरैडरमा बाँच्नुभन्दा बरु करैकरकै बिमारीले पो किन नमर्ने ? अरू रोगले मर्नुभन्दा त करको बोझले मर्नु देशभक्त नागरिक हुनुको प्रमाण हैन र भन्या ? बरु तीनै तहका सरकारहरूकहाँ गएर माग राख्नुपर्यो, नेपाली जनतालाई करको भारी पुगेन, अलि थपिदेऊ भनेर । यसका लागि बरु जुलुशै जानुपर्ला जस्तो छ । तपाईं पनि जाने हैन्त ‘कर थप गर सरकार’ भन्दै जुलुशमा ?