काठमाडौं । मध्यवैशाखमा आयोजित लगानी सम्मेलनअगावै मुलुकको क्रेडिट रेटिङ सम्पन्न गर्ने घोषणा गरेको सरकारले सम्मेलन सम्पन्न भएको २ महीना बितिसक्दा पनि त्यसमा तात्त्िवक प्रगति गर्न सकेको छैन । सरकारले बेलायत सरकारको अनुदानमा अमेरिकी क्रेडिट रेटिङ कम्पनी फिच रेटिङमार्फत नेपालको कन्ट्री रेटिङ गर्न खोजेको छ ।
मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ एउटा मुख्य हो । यस्तो रेटिङले कुनै देशको सरकारले जारी गर्ने अन्तरराष्ट्रिय ऋणपत्र कति सुरक्षित छ भन्ने तथ्य प्रस्तुत गर्ने हुँदा अन्तरराष्ट्रिय लगानीकर्तालाई सम्बद्ध देशमा लगानी गर्न सघाउनुका साथै उक्त देशको लगानीको वातावरण पनि चित्रण गर्छ । राम्रा वैदेशिक लगानीकर्ताले लगानीको पूर्वशर्तका रूपमा सोभरेन क्रेडिट रेटिङलाई पनि लिने गरेका छन् । तर, हालसम्म नेपालको कन्ट्री क्रेडिट रेटिङ हुन सकेको छैन ।
६ महीनाअघि अर्थ मन्त्रालयको वित्तीय महाशाखाका सहसचिवको नेतृत्वमा रहेको कार्यदललाई लगानी सम्मेलनअघि नै कन्ट्री रेटिङ सम्पन्न गराउन आवश्यक तयारी पूरा गर्ने गरी जिम्मेवारी दिइएको थियो । कार्यदलले आवश्यक तयारी पूरा गरे पनि रेटिङ कम्पनी हालसम्म फिल्ड भिजिट गर्न आएको छैन ।
‘जेठ पहिलो सातासम्म रेटिङ कम्पनी नआएपछि बजेटको तयारी गर्नुपर्ने बाध्यताले त्यसलाई प्राथमिकतामा राखिएन । अहिले फलो–अप भइरहेको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कम्पनीले सेप्टेम्बरमा भिजिट गर्ने भनेको छ ।’
ती अधिकारीका अनुसार अहिले अर्थ मन्त्रालयले वैशाखमै तयार गरेका सूचकहरूलाई अद्यावधिक गरेर राख्ने काम गरिरहेको छ । ‘रेटिङ कम्पनीले माग गरेको ढाँचाअनुसार तथ्यांक जम्मा गरेर राखेका छौं । अद्यावधिक गरेर दिन हामीलाई कुनै गार्हो छैन,’ ती अधिकारीले आर्थिक अभियानसँग भने । तर, लगानी सम्मेलनपछि पनि प्रक्रियामा हालसम्म कुनै प्रगति नभएकाले क्रेडिट रेटिङको काम सकिन्छ भन्न सक्ने अवस्थामा अर्थका अधिकारीहरू छैनन् । ‘हामीले प्रयास गरेको धेरै भयो, काम हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘तैपनि दशैंअघि नै रेटिङको काम सकिने सम्भावना छ ।’
शुरूमा यस कामका लागि अनुदान सहयोग गर्ने बेलायती सहयोग नियोग (फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस) र उसलाई प्राविधिक सहयोग उपलब्ध गराउने स्ट्याण्डर्ड चार्टर्ड बैंकबीच कार्यक्षेत्रका विषयमा स्पष्टता नहुँदा रेटिङको काम शुरू नभएको अर्थका अधिकारीहरूले बताए ।
क्रेडिट रेटिङ गराइसकेपछि ऋणपत्र जारी गरेर पनि अन्तरराष्ट्रिय बजारबाट स्रोत जुटाउन बाटो खुल्नेछ । नेपालले हालसम्म अन्तरराष्ट्रिय ऋणपत्र जारी गरेर स्रोत परिचालन गरेको छैन । यद्यपि एशियाली विकास बैंक र अन्तरराष्ट्रिय वित्त निगमले नेपाली मुद्रामा अन्तरराष्ट्रिय ऋणपत्र जारी गर्न पहल गरेका थिए ।
सीमित घरेलु स्रोतका कारण देशको पूर्वाधार क्षेत्रमा स्रोत परिचालन गर्न वैदेशिक स्रोत जुटाउनुपर्ने आवश्यकता रहँदै आएको छ । देशको राजस्वले चालू खर्चमात्र धान्ने अवस्था छ । त्यसैले विकास खर्चका लागि आन्तरिक ऋण र वैदेशिक सहायतामा नेपाल ज्यादै निर्भर छ ।
सरकारले आर्थिक वर्ष (आव) २०७६/७७ को बजेटमा पहिलोचोटि कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो । चालू आवको बजेटमा पनि यो कुरा परेको छ ।
रेटिङ नहुँदा बैंकहरूले सीधै ठूलो रकम कर्जा लिन सकेका छैनन् । अन्तरराष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिनसमेत समस्या पर्दै आएको छ ।
सरकारले सार्वभौम क्रेडिट रेटिङका लागि सार्वजनिक सूचना जारी गरी कम्पनीहरूलाई आह्वान गरेको थियो । रेटिङसम्बन्धी विश्वका तीन प्रमुख कम्पनी फिच, मुडिज र स्ट्यान्डर्ड एन्ड पुअर्सले आवेदन दिए । तीमध्ये सरकारले फिच रेटिङ एजेन्सीसँग क्रेडिट रेटिङसम्बन्धी सम्झौता गरेको थियो । उक्त प्रक्रियाका लागि सरकारले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई रेटिङ सल्लाहकार तोकेको छ ।
यसअघि कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै सूचक नकारात्मक रहेको र क्रेडिट रेटिङ गर्दा अन्तरराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने डरले सरकारले प्रक्रिया नै अवरुद्ध पारेको थियो । पछिल्लो समय तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत र वर्तमान अर्थमन्त्री वर्षमान पुनले बारम्बार सोभरेन क्रेडिट रेटिङ लगानी सम्मेलनअघि नै सम्पन्न गराउने आश्वासन हरेक फोरमहरूमा बाँडे पनि फिच रेटिङ एजेन्सीले अहिलेसम्म काम नगरिदिँदा समस्या उत्पन्न हुँदै आएको सरकारी अधिकारीहरू दाबी गर्छन् ।
त्यसो त, आगामी आवको बजेटमा समेत सरकारले रेटिङको काम सक्ने उद्घोष गरेको छ । पटकपटक बजेटमा राख्ने तर कार्यान्वयन नगर्ने सरकारको तरीकाले विश्वसनीयतामाथि नै ठूलो प्रश्न खडा गरेको छ ।
लगानीकर्ता विश्वस्त हुने आधार मानिएको रेटिङको काममा यसरी ढिलाइ गरिँदा लगानीमैत्री वातावरण बन्न नसक्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल बताउँछन् । ‘लगानी सम्मेलनअघि गर्ने भनेको काम अहिलेसम्म नहुनु दु:खद हो,’ उनले भने, ‘यसमा ढिलाइ हुनु हुँदैन ।’ बारम्बर रेट्रिङ गर्ने बताउँदै आएको सरकारले तत्काल फिच कम्पनीलाई ताकेता गरेर काम सम्पन्न गराउनुपर्ने उनको भनाइ छ ।