काठमाडौं। लहानस्थित आफ्नो शाखा कार्यालयमा कर्जा असुली र लिलामी सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा कपोलकल्पित तथा भ्रमपूर्ण समाचार प्रसारित भएको कृषि विकास बैंकले बताएको छ । बैंकको नियमित सेवा सञ्चालनमा बाधा पुर्याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कर्जा असुलीको प्रचलित कानूनी प्रक्रिया पूरा गरी गरिएको लिलामी कार्यप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिले बैंकको शाखा परिसरमा तालाबन्दी, नाराबाजी, ढुंगामुढा, गालीगलौज, तोडफोड र हुलहुज्जत गर्दै बैंकको सेवा अवरुद्ध गराउने काम गरेको बैंकले बताएको छ ।
‘लहान शाखाका कर्जा ग्राहक रामचन्द्र यादवले २०७७ फागुन १५ मा सरल कृषि कर्जा र व्यक्तिगत ओभरड्राफ्ट शीर्षकअन्तर्गत लिएको कर्जाको साँवा र ब्याज तोकिएको समयमा भुक्तानी नगरेपछि बैंकले प्रचलित कर्जा असुली कार्यविधि अनुसार मौखिक र लिखित ताकेता गरेको थियो,’ विज्ञप्तिमा भनिएका छ, ‘तर २०७९ वैशाख २० मा सार्वजनिक सूचनाद्वारा जानकारी गराउँदा पनि कर्जा भुक्तानी नगरेकाले २०७९ माघ २३, २०८० जेठ १७ र २०८० मङ्सिर ४ गते लिलामीका सूचना सार्वजनिक गरियो । पुन: चौथो पटक २०८१ असोज ८ मा लिलामी सूचना प्रकाशन गरी प्रक्रियागत रूपमा सम्पूर्ण आवश्यक काम पूरा गरी धितो लिलामी गरिएको हो ।’
तर लिलामी प्रक्रियामा असहमति जनाउँदै ऋणी र अन्य व्यक्तिहरूको समूहले २०८१ पुस ११ र माघ २३ गते बैंक परिसरमा तालाबन्दी, तोडफोड, ढुंगामुढा, नाराबाजी र गालीगलौज गरी बैंकको सेवा अवरुद्ध गराएको बैंकले बताएको छ । यस घटनाले ग्राहक, सरोकारवाला र सर्वसाधारणमा भ्रम सृजना गरेको र बैंकको सेवा प्रवाहमा गम्भीर असर परेको बैंकले उल्लेख गरेको छ । बैंकले गैरकानूनी गतिविधि र अराजक क्रियाकलापप्रति भत्र्सना गर्दै कानूनी उपचार खोज्न सबैलाई आग्रह गरेको छ ।
कानूनी प्रक्रियाबाट असहमति समाधान गर्न सकिने स्पष्ट गर्दै यसरी संवेदनशील संस्था र अत्यावश्यक सेवा अवरुद्ध गर्नु अनुचित रहेको बैंकले बताएको छ । साथै सम्बन्धित सबैलाई सेवा सञ्चालनमा सहजीकरणका लागि अनुरोध समेत गरेको छ ।