व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रेरणा’ले प्रमुख भूमिका खेलिरहेको हुन्छ । यसले कर्मचारीलाई त्यो स्तरमा पुर्याउन सहयोग गर्छ जुन स्तरबाट कम्पनीले कर्मचारीबाट धेरैभन्दा धेरै लाभ लिन सक्छन् । प्रायः प्रेरणा भन्ने शब्द सुन्नासाथ हामी सबैको दिमागमा पैसाको तस्वीर आउँछ । त्यसैले कर्मचारीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पैसा नै हो कि भन्ने धेरैको सोच पनि हुन्छ । पक्कै पनि पैसा महत्त्वपूर्ण छ र यो प्रेरणाको प्रमुख तत्त्व पनि हो । तर, कम्पनीले कर्मचारीबाट आफूले चाहेको परिणाम निकाल्न उनीहरूलाई प्रेरणा दिने खालका अरू तत्त्व पनि दिन आवश्यक छ । त्यसैले कर्मचारीलाई पैसाले मात्र प्रेरित गर्दैन भन्ने कुरा बुझ्न आवश्यक छ ।
यहाँ तल कर्मचारीलाई प्रोत्साहित गर्न पैसाबाहेक अन्य के कुराको आवश्यकता पर्छ भन्ने प्रस्तुत गरिएको छ ।
१. उत्कृष्ट कर्मचारीको तारीफ गर्ने :
उत्कृष्ट कर्मचारीको तारीफ गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । कर्मचारीलाई प्रेरित गर्ने यो एउटा राम्रो र महत्त्वपूर्ण माध्यम हो । समयमै राम्रो काम गर्न कडा प्रयास र परिश्रम गर्ने कर्मचारीलाई उनीहरूको कामको तारीफ गर्न जान्नुपर्छ । यसले तारीफ पाउने कर्मचारीलाई त प्रोत्साहित गर्छ नै, साथै अन्य कर्मचारीलाई पनि सोही स्तरमा पुगेर तारीफ बटुल्न लागि पर्न सकारात्मक प्रभाव पार्छ ।
२. प्रतिस्पर्धालाई प्रोत्साहन :
प्रतिस्पर्धात्मक प्रोत्साहन कार्यक्रमको माध्यमबाट पनि कर्मचारीलाई प्रेरणा दिन सकिन्छ । यदि विक्री विभागका कर्मचारीलाई प्रेरणा दिनु छ भने उनीहरूको प्रशंसा र तारीफ गरेर विक्रीका लागि प्रतिस्पर्धा बढाउन सकिन्छ । त्यस्तै, साप्ताहिक, मासिक वा वार्षिक सेल्स प्रदर्शन छनौट गरेर पनि उनीहरूलाई प्रेरणा दिन सकिन्छ । प्रतिस्पर्धा बढाएर उत्कृष्ट परिणाम हासिल गर्न यस्ता कार्यक्रमहरूको आयोजना गर्न सकिन्छ ।
३. उत्कृष्ट कर्मचारीको बढुवा :
हरेक कर्मचारी आफू बढुवा हुन पाए हुन्थ्यो भनेर सोच्ने गर्छन् । यस्तो बढुवाले कर्मचारीले काम गर्ने संस्थाको विभागमा पद र अधिकार दिने मात्र नभई यसले उनीहरूको बायोडाटामा पनि प्लस पोइण्ट दिलाउँछ ।
४. उत्कृष्ट पदमा बढुवा :
संस्थागत वर्गीकरणमा उच्च पदमा बढुवा गरेर पनि कर्मचारीलाई प्रेरणा दिलाउन सकिन्छ । यसका लागि सबैभन्दा राम्रो उपाय भनेको वर्गीकरणमा कसरी जान सकिन्छ र त्यस्तो बढुवा प्राप्तिका लागि केकस्ता कुराको आवश्यकता पर्छ भन्नेबारे विस्तृत विवरण दिने खालका कार्यक्रम तयार गर्नु हो ।
५. निर्णय निर्माणको स्वतन्त्रतामा वृद्धि :
कहिलेकाहिँ आफ्ना कर्मचारीलाई धेरै नै तलब दिइरहेको भए पनि आफ्नो निर्णय गर्ने क्षमता सीमित रहेको र निर्णय गर्दा नसोधी गर्न मिल्दैन भन्ने कुराले उनीहरूलाई निरुत्साहित पार्न सक्छ । उनीहरूलाई निर्णय निर्माणको स्वतन्त्रता दिने हो भने कर्मचारी प्रेरित त हुन्छन् नै, यसले समग्र व्यावसायिक उत्पादकत्व बढाउन समेत सहयोग गर्छ ।
६. विशेष किसिमका उत्पादनले पुरस्कृत गर्ने :
सबैले पुरस्कारमा सधैं पैसा नै चाहिरहेका हुन्छन् । तर, कहिलेकाहिँ नगदबाहेक अन्य पुरस्कारले पनि संस्थामा प्रेरणाको लहर फैलाउने काम गर्न सक्छ । उदाहरणका लागि, यदि कर्मचारीलाई कुनै तस्वीर उपहारका रूपमा दिने हो भने त्यसलाई उसले घरमा लगेर सजाउँछ र ऊ त्यसलाई आफूले राम्रो काम गरेबापत कार्यालयबाट पाएको भन्दै परिवार र आफ्ना घरमा आउने आगन्तुकमाझ गौरवान्वित हुन्छ । यस्ता उपहारले कर्मचारीलाई प्रेरित पनि गर्छ र यसले तपाईंको व्यवसायबारे सकारात्मक सार्वजनिक विचारको निर्माण गर्न र व्यापक समुदायमाझ लैजान र पनि सहयोग गर्छ ।
७. कुनै समारोहमा सपरिवारलाई निमन्त्रणा :
उद्यमी भएका नाताले तपाईं र तपाईंका टिमले बेलाबखत थुपै्र समारोहमा सहभागी हुनुपर्ने भइरहन्छन् । यस्ता समारोहमा कहिलेकाहिँ आफ्ना केही कर्मचारीहरूलाई सपरिवार आमन्त्रित गर्न सकिन्छ । यसले उनीहरूलाई आफू महत्त्वपूर्ण भएको अनुभव दिलाउँछ र तपाईंको व्यवसायलाई थप अपनत्व दिन्छ ।
८. मैत्री सम्बन्धको स्थापना :
तपाईंको व्यवसाय भनेको तपाईंको दोस्रो परिवार हो । कहिलेकाहिँ तपाईं आफ्नो परिवारसँगभन्दा धेरै समय आफ्ना कर्मचारीसँग बिताउनुहुन्छ । त्यसकारण, उनीहरूसँग मैत्री सम्बन्धको स्थापना गर्नाले व्यवसायलाई थप उचाइमा लैजान र कर्मचारीलाई प्रेरणा दिन सघाउ पुग्छ ।
प्रस्तुति : अस्मिता ढकाल