काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यही पुस २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकको भक्तपुर बोडेस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । पुस ४ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र करसमेत ७ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । योसँगै अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरूलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले सभामार्फत पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रहेको छ ।
गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न लागेको हो । यसअघि आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्तावलाई अन्तिम स्वीकृति दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको अघिल्लो कारोबार दिन पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्