काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले कुल कित्ता शेयरमध्ये २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
१५ हजार ४०० कित्ता शेयर खरीदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने शेयरका लागि असोज १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । अन्य व्यक्ति तथा संस्थाका लागि समेत विक्रीमा आएको २४ लाख २२ हजार ५४८ कित्ता शेयर खरीदका लागि भने असोज २ गतेदेखि आवेदन पेश गर्नुपर्नेछ ।
अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने अन्य व्यक्ति तथा संस्थाहरूले लक्ष्मी सन्राइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।