काठमाडौं । कुमारी सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड भदौ मसान्तसम्म २ करोड ९५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा वृद्धि भएको हो । साउन मसान्तसम्म योजना २ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र नोक्सानीमा थियो ।
साउनको तुलनामा योजनाको खर्च बढेको र जम्मा आम्दानीको ऋणात्मक अवस्थामा समेत वृद्धि भएकाले खुद नोक्सानी बढेको हो । साउनमा १ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक रहेकोमा भदौमा यो रकम २ करोड ६१ लाखभन्दा बढी ऋणात्मक देखिएको छ । त्यस्तै साउनमा १८ लाख ५३ हजार रुपैयाँ खर्च भएकोमा भदौमा ३३ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।
योजनाको प्रतिइकाई खुद मूल्यमा समेत कमी आएको छ । साउन मसान्तसम्म १० रुपैयाँ ८१ पैसा रहेको प्रतिइकाई खुद मूल्य भदौ मसान्तसम्म ९ रुपैयाँ ७३ पैसा कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।
धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य कमिसनसहित १ अर्ब १२ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा लगानी गरेको योजनाको कुल लगानीको मूल्य ८९ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र छ । योजनाले गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कम रहेको छ ।