काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ ।
कम्पनीले माघ २५ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा तीसौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ दशलमव ६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालक (चार वर्षको लागि) र संस्थापक सञ्चालक (बाँकी अवधिको लागि)को पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १४ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।