काठमाडौं । लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बैंकहरूले विक्री गर्नुपर्ने गरी सरकारले लगानी सहजीकरणसम्बन्धी विधेयकमा गरेको व्यवस्थाले जग्गाको भाउ घटी ऋण असुलीमा असर गर्ने बैंकरहरूले बताएका छन् ।
पछिल्लो समय ठूला ऋणीहरूले नै बैंकबाट लिएको ऋण नतिर्ने, बरु मुद्दामामिलामा जाने प्रवृत्ति बढेको र त्यस्ता मुद्दा फैसला हुनै लामो समय लागेका कारण सरकारले तोकेको सीमाभित्र लिलामी गर्न कठिन पर्ने गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् ।
‘बैंक, वित्तीय संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अभियानै चलेको छ । त्यसकै पछि ऋणीहरू लागेका छन् । बैंकले ताकेता गर्दा मुद्दामामिलामा जाने प्रवृत्ति बढ्यो । सरकारले सीमा तोक्दा उठाउने अवस्थै रहन्नँ,’ उनले भने । बैंकहरूले कर्जा असुलीमा समस्या भएर धितो लिलाम गर्दा विक्री नभएपछि गैरबैंकिङ सम्पत्तिमा सकार गर्दै आएका छन् ।
यसरी सकार गरेको जग्गा विक्रीमा हदबन्दी देखाउँदै मालपोत कार्यालयले रोक लगाएपछि सरकारले भूमिसम्बन्धी ऐन संशोधनमार्फत त्यसलाई सहजीकरण गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश संसद्मा पेश भई स्वीकृत भएपछि स्वीकृत अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार यस्तो विधेयक अध्यादेशको प्रावधान यथावत् राख्दै वा संशोधनसहित प्रतिस्थापित गर्ने हिसाबले प्रस्तुत गरिन्छ ।
विधेयकमा भूमिसम्बन्धी ऐनलाई संशोधन गर्दै बैंक, वित्तीय संस्थाले विक्री नभएको धितो हदबन्दीभन्दा बढी सकार गरेको भए ३ वर्षभित्र विक्री गर्नुपर्ने व्यवस्था छ । ‘बैंक वा वित्तीय संस्था तथा सहकारी संघसंस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलाम विक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बद्ध बैंक वा वित्तीय संस्था वा सहकारी संघसंस्था आफैले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले ३ वर्षभित्र बेचबिखन गरी सक्नु पर्नेछ,’ विधेयकमा उल्लेख छ ।
यसको असर गैरबैंकिङ सम्पत्ति बढी भएका बैंकलाई पर्ने देखिन्छ । छोटो अवधिमै बेच्न बाध्य हुँदा जग्गाको बजार मूल्य नपाइने भएकाले बैंक सम्भावित फाइदाबाट वञ्चित हुने बैंकरहरूको भनाइ छ । उक्त अवधिभित्र जग्गा बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्न नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था विधेयकमा छ ।
नेपाल सरकारले स्वीकृति दिनुपर्ने व्यवस्थामाथि नै बैंकरहरू प्रश्न उठाउँछन् । ‘यो सरकारबाट स्वीकृति भन्ने शब्द नै ठीक छैन, के मनसायले ल्याइयो हामीलाई थाहा भएन,’ सीईओ खालिङले भने, ‘अहिले पनि नियामक निकायबाट स्वीकृति लिएरै जग्गा बेचबिखन गर्ने हो ।’
बैंक, वित्तीय संस्थाले विक्री नभएको धितो लिलाम हदबन्दीभन्दा बढी सकार गरेको भए ३ वर्षभित्र विक्री गर्नुपर्ने भनी अध्यादेश र त्यसको प्रतिस्थापन विधेयकमा गरेको व्यवस्थाबाट बैंकहरूलाई अप्ठ्यारोमा पार्न नहुने पूर्वबैंकर भुवन दाहाल बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा ३ वर्षभित्रै लिलाम गर्न सकिन्छ तर जग्गाको भाउ घटेको छ र ऋणी मुद्दामामिलामा गएको छ भने उक्त समयसीमाभित्र लिलाम गर्न सकिँदैन । ‘मुद्दामामिलामा गएको समयलाई गणना नगरी ३ वर्ष बैंकहरूलाई दिनुपर्छ,’ उनले भने, ‘जग्गाको भाउ घटेका बेला पनि राज्यले लिलामी गरिहाल भन्न हुँदैन । त्यस्तो बेला बैंकहरूलाई समय दिनुपर्छ ।’
यता सरकारी अधिकारी भने जथाभावी रूपमा लिलामी गर्ने र त्यसबाट धेरै ऋणीहरूमा असर परेपछि यस्तो व्यवस्था गरिएको बताउँछन् । ‘केही ठूला वाणिज्य बैंकले नै ऋणीलाई बारम्बार टर्चर दिने गरेको पाइयो । त्यसलाई मत्थर गर्न यस्तो व्यवस्था गरिएको हो । अब बैंकहरूले जथाभावी लिलामीका सूचना निकालेर सम्पत्ति लिलामी गर्न पाउने छैनन्,’ विधेयक निर्माणमा सहभागी सरकारका एक उच्च अधिकारीले आर्थिक अभियानसँग भने ।
आइतवार संसद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा भूमिसम्बन्धी ऐन, २०२१ मा संशोधन गरी उपदफामा थपिएको छ । उक्त दफामा ‘निवेदन दिन नसकेको उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले यो उपदफा प्रारम्भ भएको मितिले १ वर्षभित्र हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली स्वीकृतिका लागि मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष निवेदन दिन सक्नेछ’ उल्लेख गरिएको छ । कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभन्दा बढी जग्गा रहेकामा विभाग तथा कार्यालयले त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हदबन्दीभित्र रहेको र हदबन्दीभन्दा बढी जग्गाको अभिलेख बनाएर राख्नुपर्ने पनि विधेयकमा उल्लेख छ ।
मन्त्री भण्डारीले लगानीलाई सहज बनाउन जग्गा प्राप्ति गर्ने विषयमा सहजता कायम गर्ने, वनक्षेत्रमा प्राकृतिकता प्राप्त उद्योग स्थापना गर्ने विषयलाई सहज बनाउने, सरकारको स्वीकृति लिई हदबन्दीभन्दा बढी ५० प्रतिशतसम्म उद्योगको क्षमता वृद्धि गर्न धितो राख्ने व्यवस्था गरिएको बताएका थिए ।