काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ७ कम्पनीले सर्वाजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कुल रू. २ अर्ब ७ करोड ४० लाख ४१ हजार नाफा कमाएका छन् । यो नाफा गत आवको यसै अवधिमा रू. २ अर्ब ५ करोड ९० लाख थियो ।
चालू आवको दोस्रो त्रैमास अर्थात ६ महीना अवधिमा लगानी समूहका सूचीकृत ७ कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ६४ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने ६ दशमलव ९६ प्रतिशत कमि हो । सो अवधिमा कम्पनीले रू. ६८ करोड ९९ लाख नाफा कमाएको थियो ।
नाफा कमाउने दोस्रोमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टले रू. ६२ करोड २२ लाख नाफा कमाएको छ ।
यी ७ कम्पनीहरुमध्ये दुई कम्पनीको नाफा घटेको छ भने बाँकी सबैको बढेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित हाइड्रो इलेक्ट्रीसिटीको नाफा घटेको हो । त्यस्तैगत वर्ष रू. ५९ लाख ४२ हजार घाटामा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल यस वर्ष रू. १ करोड ४९ लाख भन्दा बढी नाफा कमाएको छ ।
त्यसैगरी सिईडिबि होल्डिङ्गसको नाफा गत वर्षको तुलनामा यस वर्ष २९० प्रतिशत वृद्धि भएको छ । गत वर्ष कम्पनीले रू. ५ करोड ३६ लाख नाफा कमाएकोमा यस वर्ष बढेर रू. २० करोड ९४ लाख पुगेको छ ।