काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १४ दशमलव ८३ अंक घटेर बन्द भएको छ । परिसूचक २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । यो संगै नेप्से लगातार तीन कारोबार दिन घटेको हो ।
तीन कारोबार दिनमा नेप्से ३४ दशलमव ६७ अंक घटेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू.३ अर्ब ७१ करोड बराबरको कारोबार भएकोमा आज रू. ६० करोडमा झरेको छ ।
पछिल्लो केही दिनयता खरीदकर्ता भन्दा पनि विक्रेता बढी हावी हुँदा बजार थप प्रभावित भएको देखिन्छ । असार महिना लागेपछि बजार झन शिथिल बनेको छ । अब विस्तारै असार मसान्तको पनि दबाब पर्ने लगानीकर्ता बताउँछन् । मसान्तमा कर्जाको साँवा–ब्याज भुक्तानी गर्नुपर्ने भएकाले पनि बजारले थप दबाबको सामाना गर्नुपर्ने उनीहरुको भनाई छ ।
आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८२ प्रतिशत घटेको हो । ३२० धितोपत्रको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटकमा रू. ३ अर्ब ६० करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ७ दशलमव ०६ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २७४ पुगेको हो । त्यस्तै दोस्रोमा मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५ दशलमव ७६ प्रतिशत बढेर रू. ६९८ पुगेको छ ।
आइतवार सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशलमव ३० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २१९ दशमलव ९० मा झरेको छ । त्यस्तै दोस्रोमा साधना लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य ८ दशमलव ७७ प्रतिशत घटेर रू. १ हजार ४० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १२ करोड ८८ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९७० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्सको रू. ११ करोड ९८ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक शून्य दशमलव ३४ प्रतिशत बढेको छ भने लघुवित्त समूहको सूचक १ दशमलव ३७ प्रतिशत घटेको हो ।