काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् ।
गतवर्षको तेस्रो त्रैमाससम्म ३ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका लघुबीमा कम्पनीहरूले यस वर्ष ५१ दशमलव ९६ प्रतिशतले बढाएका हुन् ।
यस वर्ष सबैभन्दा बढी खुद नाफा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कमाएको छ । कम्पनीले २ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गतवर्षको सोही अवधिमा गार्डियनको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो ।
यस वर्ष गार्डियन माइक्रो लाइफले २५ करोड ५१ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेकाले खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गतवर्ष ९ महीनामा गार्डियन माइक्रो लाइफले ५ करोड ४२ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको थियो ।
गार्डियनले लघुबीमा क्षेत्रका कम्पनीहरूमध्ये सबैभन्दा पहिला सर्वसाधारणमा शेयर विक्री गरेको हो । शेयर विक्री गरिसकेको क्रेस्ट माइक्रो लाइफले पनि गतवर्षको तुलनामा यस वर्ष झन्डै ६३९ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।
गतवर्ष १४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको क्रेष्टले यस वर्ष उक्त अंक १ करोड ५ लाखभन्दा माथि पुर्याएको हो । क्रेस्टले पनि यस वर्ष कुल आम्दानी बढाएकाले खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गतवर्ष ७ करोड ८६ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको क्रेस्टले यस वर्ष बढाएर २३ करोड ४८ लाख रुपैयाँ नघाएको हो । सर्वसाधारणमा शेयर विक्री गरिसकेका तीन कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा भने यो वर्ष ८० प्रतिशतभन्दा धेरैले घटेको छ । कम्पनीको कुल आम्दानी बढे पनि खर्च धेरै भएकाले नाफामा असर परेको देखिन्छ । गतवर्ष ५ करोड २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको नेपाल माइक्रो इन्स्योरेन्सले यस वर्ष ११ करोड ५९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । तर, खर्च ११ करोड ५२ लाख रुपैयाँभन्दा बढी भएसँगै खुद नाफामा असर परेको हो । गतवर्ष यस अवधिसम्म नेपाल माइक्रोले ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।
नेपाल माइक्रोसँगै यस वर्ष नाफा घट्नेमा स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स छन् । ट्रस्टको ६७ दशमलव ५८ प्रतिशत र स्टारको ८९ दशमलव १० प्रतिशतले यस वर्ष खुद नाफा घटेको छ । यी कम्पनीको पनि आम्दानीको तुलनामा खर्च बढ्दा नाफामा असर परेको हो ।
यस वर्ष नाफा बढाउनेमा गार्डियन र क्रेस्टसँगै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स छन् । प्रोटेक्टिभको ३९ दशमलव १९ र लिबर्टीको १ दशमलव ९६ प्रतिशतले खुद नाफा बढेको हो ।
लघुबीमा कम्पनीहरू यति बेला पूँजी वृद्धिका लागि जुटिरहेका छन् । सर्वसाधारणमा शेयर विक्री गरी ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम तीन कम्पनीले त्यो काम गरिसकेका छन् । तीन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि निवेदन दिएका छन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएका हुन् । ट्रस्ट माइक्रो इन्स्योरेन्सले जेठ १ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाबाट प्रारम्भिक सार्वजनिक निष्कासनको प्रस्ताव पारित गरेको छ ।
लघुबीमा क्षेत्रका कम्पनीहरू सञ्चालनको छोटो समयमै नाफामा रहनु नै सकारात्मक पक्ष रहेको जानकारहरूको बुझाइ छ । कारोबारको शुरुआती समयमै पूँजीवृद्धिको तयारीको खर्चले खुद नाफामा असर पर्ने अनुमान उनीहरुको छ । बीमाक्षेत्रका जीवन र निर्जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने चुक्ता पूँजी फरकफरक रहे पनि लघुबीमा क्षेत्रका जीवन र निर्जीवनतर्फका कम्पनीलाई समान रूपमा ७५ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्था छ ।