काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि प्रत्याभूतिकर्ता नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । खरीद प्रत्याभूति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट तथा आरबिबि म्युचुअल फन्ड १ लाई सोमवार नियुक्त गरेको हो ।
सोमवार आयोजित कार्यक्रमका नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले उक्त शेयर प्रत्याभूति प्रदान गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।