कम्प्युटर र इन्टरनेटको विस्तारसँगै हरेक क्षेत्रमा प्रविधिको उपयोग बढेको छ । ग्राहकको व्यस्तता, इन्टरनेटमा सर्वसाधारणको पहँुच आदिले अहिले अनलाइन बैंकिङ (ई–बैंकिङ) लोकप्रिय बन्दै गएको छ । ग्राहकले आफ्नो बैंकखाता मार्फत अनलाइनबाटै कारोबार चलन बढेकाले नेपालमा ई–बैंकिङ फस्टाएको हो ।
अहिले नेपालका सबै वाणिज्य बैंकले अनलाइन बैंकिङ सेवा दिएका छन् । यससँगै अनलाइनबाटै खाता खोल्ने र वैदेशिक लगानीको कारोबार गर्नेसम्मका कार्यमा ई–बैंकिङ प्रयोग हुँदै आएको छ । यसबाहेक अन्य वित्तीय संस्थाले पनि ई–बैंकिङ लागू गर्ने प्रक्रियामा छन् । ई–बैंकिङले गर्दा बैंकका शाखामा हुने अनावश्यक भीड र लुटपाटका घटनामा कमी आएका छन् ।
ई–बैंकिङको प्रयोगबाट कुनै एक ठाउँमा बसेर विश्वको कुनै पनि ठाउँमा सजिलै पैसा पठाउन र झिक्न सकिन्छ । यसैगरी घरमै बसेर बैंकको खातामा रहेको आफ्नो ब्यालेन्सबाट मोबाइल रिचार्ज गर्ने, अनलाइन शपिङ भुक्तानी गर्ने, बैंकको ब्यालेन्स चेक गर्ने लगायत कार्य पनि गर्न सकिन्छ । कसैले आफ्नो खातामा कति रकम राख्यो र कति झिक्यो भन्ने लगायत खाताको विवरण इन्टरनेटबाटै थाहा पाउन सकिन्छ । अनलाइन बैंकिङको एकाउन्ट खोल्न र बन्द गर्न निकै सजिलो छ । एकाउन्ट (खाता) खोल्दा र बन्द गर्दा कुनै कागजी काम गर्नु पर्दैन । ग्राहकको ईमेलमार्फत बैंकले आईडी, पिन नम्बर र पासवर्ड पठाएपछि प्रयोगकर्ताले अनलाइन बैंकिङ चालू गर्न सक्छन् ।
अनलाइनसँग सम्बन्धित कुनै पनि काममा सूचनाको चोरी सहजै हुन सक्छ । झनै आर्थिक कारोबारमा त सानासाना पक्षमा ध्यान नदिँदा खातामा भएको रकम चोरी हुन सक्छ । अन्तरराष्ट्रिय माफिया जुनसुकै बेला सक्रिय रहने भएकाले अनलाइन बैंकिङमा ध्यान पु¥याउनुपर्छ । अनलाइन बैंकिङ व्यवस्थित र नियन्त्रण गर्ने कानून तथा संयन्त्रको अभावले गर्दा करोडौंको कारोबारमा वैधता र विश्वसनीयताको प्रश्न उठिरहेको छ । ई–कार्ड दुरुपयोग गर्ने, खाता नम्बर ह्याक गर्ने र पासवर्डसमेत चोरी हुने भएकाले यसको सुरक्षामा उत्तिकै सचेत हुनुपर्ने विज्ञहरू बताउँछन् ।
अनलाइन बैंकिङ सुरक्षित राख्ने उपाय
- आफूबाहेक कुनै पनि दोस्रो व्यक्तिलाई आफ्नो ई–बैंकिङ पासवर्डको जानकारी दिनु हुँदैन ।
- आफ्नो खाताको अनलाइन विवरण कसैलाई बताउनु हुँदैन ।
- आफ्नो एकाउन्ट कुनै सार्वजनिक साइबरमा खोल्नु हुँदैन । कुनै डाटा अर्को कम्प्युटरमा सेभ भए समस्या उत्पन्न हुन सक्छ ।
- ल्यापटप चलाउनेहरूले पनि कुनै सार्वजनिक वाइफाइ जोनमा आफ्नो एकाउन्ट खोल्नु हुँदैन ।
- खाताको डिटेललाई आफ्नो व्यक्तिगत ईमेल वा अन्य कुनै सुरक्षित ठाउँमा राख्नुपर्छ, जसले गर्दा त्यसलाई अरू कसैले प्रयोग नगरोस् ।
- पासवर्ड सजिलै सम्झन सकिने रोज्नुपर्छ । तर, त्योे सजिलै अन्दाज गर्न सक्ने शब्द वा अंकको हुनु हुँदैन ।