काठमाडौं । हिजोआज जताततै अनलाइन शपिङ (किनमेल)बारे सुन्न पाइन्छ । कुनै पनि वस्तु खरीद गर्न पहिलेजस्तो बजारभरि घुमेर समय बिताउनुपर्ने झन्झट अब छैन । घरमै बसेर आफ्नो कम्प्युटर, ल्यापटप र स्मार्टफोनबाट इण्टरनेटमार्फत विभिन्न सामग्री हेरेर खरीद गर्न सकिन्छ । अनलाइन शपिङ कतिपय मानिसको रुचिको विषयसमेत बन्दै गएको छ । आफूसँग समय नहुनेहरूलाई यो किनमेलको राम्रो माध्यम बनेको छ ।
अनलाइन किनमेल गर्दा कारोबार सञ्चालन गर्ने कम्पनीले सामान ग्राहककै घरमा ल्याइदिने गर्छ, जसलाई चलनचल्तीको भाषामा होम डेलिभरी भनिन्छ । डेलिभरीकै समयमा ग्राहक आफूले खरीद गरेको सामानको बिल भुक्तानी गर्न सक्छन् । विभिन्न विशेषताका कारण अहिले नेपाली बजारमा पनि अनलाइन शपिङ लोकप्रिय बन्दै गएको छ । दराज डटकम, हाम्रो बजार डटकम, सस्तो डिल डटकम, हाम्रो किचेन, नेप बे डटकमलगायत अनलाइन शपिङ साइट नेपाली बजारमा चलेका नाम हुन् । यी साइटको गतिविधि र नयाँ उत्पादनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरू पनि लाखौंको सङ्ख्यामा छन् ।
व्यस्त जीवनशैलीका कारण मानिस अनलाइन शपिङप्रति आकर्षित भएका हुन् । तर, सबै अनलाइन स्टोरले भरपर्दो कारोबार गर्छन् भन्ने छैन । उनीहरूले इण्टरनेटमा राखेको सामान (तस्वीरको रूपमा) र बजारमा पठाउने समान एउटै गुणस्तरको नहुन सक्छ । यसले उपभोक्ता सजिलै ठगिने गर्छन् । उपभोक्ताहरू विशेषगरी लत्ताकपडा, जुत्ता, झोलालगायत सामामान किन्दा ठगिन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान खरीदपछि घरमा आउँदा बेग्लै रङ, बनावट र गुणस्तरको हुन सक्छ । यसैले अनलाइन शपिङ गर्दा केही आधारभूत पक्षमा मात्र ध्यान पु¥याए पनि ठगिनबाट बच्न सकिन्छ । अनलाइन किनमेल गर्दा यस्ता विषयमा ध्यान पुर्याउनुपर्छ :
- सामान खरीद गर्नुअघि शपिङ स्टोरको वेबसाइटको सुरक्षा पक्षमा ध्यान दिनुपर्छ ।
- किनमेल गर्दा वेबसाइटमा राखिएका सामानको सम्पूर्ण जानकारी राम्ररी हेर्नुपर्छ ।
- साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्नुपर्छ । नाम चलेका र धेरै वर्षदेखि सेवा पुर्याउँदै आएका साइटको प्रयोग गर्दा गठिने सम्भावना कम हुन्छ ।
- आफ्नो क्रेडिट कार्डको डिटेल (विस्तृत विवरण) सामान खरीद गर्ने निश्चित नभएसम्म दिनु हुँदैन । क्रेडिट कार्डबाट भुक्तानी गर्दा साइटको यूआरएल चेक गर्नुपर्छ ।
- कुनै नयाँ वेबसाइट छनोट गर्नुभन्दा आफूले किनमेल गरिसकेको वेबसाइटबाट सामान खरीद गर्नुपर्छ । आफूले चिनेका मानिस छन् भने उक्त स्थानबाट सामान किन्नु झनै राम्रो हुन्छ ।
- कुनै पनि वेबसाइटमा आफ्नो जन्ममिति र नागरिकता नम्बर उपलब्ध गराउन आवश्यक हुँदैन । यसलाई कसैसँग शेयर गर्नु पनि हुँदैन ।
- नियमित किनमेल गर्ने भए आफ्नो बैङ्क खाताको स्टेटमेण्टमा ध्यान पुर्याउनुपर्छ । कुनै कारोबार गल्तीले भएको छ कि भनेर ध्यान पुर्याउनुपर्छ । कारोबारलाई लिएर कुनै द्विविधा छ भने तुरुन्त बैङ्कमा सम्पर्क राख्नुपर्छ ।
- आफ्नो कम्प्युटरमा एण्टिभाइरस जडान गर्नुपर्छ अन्यथा ठगी गर्ने वेबसाइटले एकाउण्ट ह्याक गरिदिन सक्छन् । पासवर्ड अङ्क तथा सङ्ख्या दुवै मिलाएर राख्नुपर्छ । यसो गर्दा सजिलै पासवर्ड अनुमान गर्न सकिँदैन ।
- आफ्नो कम्प्युटरमा फिसिङ फिल्टर जडान गर्नुपर्छ । यो सफ्टवेयरले फर्जी वेबसाइट आफै फिल्टर गर्छ । किनमेलपछि समय, मिति, रसिद नम्बर आदि नोट गर्नुपर्छ । प्रिण्ट निकाल्न सकिएन भने पनि डेस्कटपमा सेभ गर्नुपर्छ ।
- कुनै पनि वेबसाइटले कसैको व्यक्तिगत जानकारी माग्यो भने ती फर्जी हुन् भन्ने बुझ्नुपर्छ । काम गरिरहेका वेबसाइटले व्यक्तिगत विवरण माग गर्दैनन् ।
- कुनै पनि सामान खरीद गर्नुभन्दा पहिले सामानको मूल्य तथा अतिरिक्त मूल्यमा ध्यान पुर्याउनुपर्छ । त्यसैगरी उक्त सामान खरीद गर्दा प्याकेजिङ, डेलिभरी तथा किनमेल चार्ज जोडिएको छ/छैन निश्चित गर्नुपर्छ ।
- आफूले खरीद गरेको सामानको वारेण्टी तथा ग्यारेण्टीमा ध्यान दिनुपर्छ । सामानमा कुनै किसिमको खराबी भेटिए त्यो फिर्ता हुन्छ कि हुँदैन, खरीद गर्नुअघि नै यकिन गर्नुपर्छ ।