काठमाडौं । कमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा वृद्धि भएको छ ।
फण्डको न्याभ पुस मसान्तमा १० रुपैयाँ ४५ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ५१ पैसा पुगेको छ । त्यस्तै फण्डले पुस मसान्तसम्ममा रू. ४ करोड ४० लाख नाफा कमाएकोमा माघ मसान्तमा बढेर रू. ५ करोडभन्दा बढी पुगेको छ । माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
पुस मसान्तसम्ममा फण्डको कुल आम्दानी रू. ५ करोड ४० लाख रहेकोमा माघ मसान्तमा बढेर रू. ६ करोड १६ लाख पुगेको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी भने पुसको तुलनामा माघमा केही घटाएको छ । फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७७ करोड २० लाख लगानी गरेकोमा माघ मसान्तमा रू. ७६ करोड ४४ लाखमा झारेको छ ।