काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डले माघ मसान्तमा रू. १७ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा २० दशमलव ५३ प्रतिशत वृद्धि हो ।
सो अवधिमा फण्डले रू. १४ करोड ३८ लाख नाफा कमाएको थियो । माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फण्डको कुल आम्दानी पुस मसान्तमा रू. १५ करोड ८९ लाख रहेकोमा माघ मसान्तमा बढेर रू. १९ करोड ५ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि पुसको तुलनामा माघमा बढेको छ । पुस मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ५९ पैसा रहेकोमा माघ मसान्तमा बढेर ११ रुपैयाँ ८३ पैसा पुगेको छ ।
माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १५ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी पुस मसान्तमा रू. १ अर्ब ११ करोड थियो ।
माघ मसान्तमा फण्डले बैंक मुद्दति निक्षेपमा रू. १ करोड, ऋणपत्र/बन्डमा रू. २ करोड ६४ लाख र सार्वजनिक निष्कासन हकप्रद र बोनस शेयरमा रू. ५ करोड ६२ लाख लगानी गरेको छ ।