काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा १०२ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनामा लगानी हुने भएको छ। आयोजनाको कुल लागत रू २१ अर्ब ४० करोड बढी लाग्ने अनुमान गरिएको छ।
आयोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ७४.७७ प्रतिशत रकम लगानी गर्नेछन्। बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक र संस्थापकहरूले लगानी गर्नेछन्।
लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र माथिल्लो मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच लमजुङ जिल्लाको मर्स्याङ्दी नदीमा निर्माण हुने माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। माथिल्लो मर्स्याङ्दी–१ परियोजनाले २०७५ पुस १० मा विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो। साथै, २०७९ पुस ९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (PPA) समेत गरिसकेको छ।
आयोजनाको प्रमुख प्रवर्द्धकका रूपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्। लक्ष्मी सनराइज बैंकको परियोजना वित्त (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ। सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब लगानी गर्नेछन्।
परियोजना २०२९ सम्ममा निर्माण सम्पन्न भई वार्षिक ५८३.०३ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, जसले यसलाई नेपालका ठूला स्वतन्त्र ऊर्जा उत्पादक आयोजनामध्ये एकको रूपमा स्थापित गर्नेछ।