काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्तापूँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्त सम्मको वासलात, २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गरेको छ।
साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।