काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
१५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्तापूँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय वातावरणसँग सम्वद्ध अनुसूचीहरू पारित गरेको छ । साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाबाट कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।