काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको १ सय किलोमिटर सडक कालोपत्र गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटबाट कालोपत्र गर्ने योजना बनाएको हो ।
आगामी ५ वर्षभित्रमा सम्पन्न गर्न बहुवर्षीय ठेक्का प्रणाली अपनाइएको यो लोकमार्गका लागि २ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आवमा सरकारले १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको थियो भने आव २०७०/७१ मा १ अर्ब ९२ करोड २७ लाख विनियोजन गरिएको थियो । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयको रहेको छ ।
पहाडका पिछडिएका दुर्गम गाउँबस्तीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक क्षेत्रमा द्रुततर विकास गरी समग्र मुलुकको विकासमा सन्तुलन ल्याउने सोचका साथ यो लोकमार्गको शुरुआत आर्थिक वर्ष २०६४/६५ बाट गरिएको थियो ।
कुल ३४ अर्ब ५० करोडको यो योजना आव २०७७/७८ मा सम्पन्न गर्ने योजना सरकारको छ । आर्थिक वर्ष २०६४/६५ मा आयोजना शुरू गर्दा ६ सय ८१ किलोमिटर २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । सो बेला १४ अर्बमा सम्पन्न गर्ने योजना लक्ष्य लिएको आयोजनाको बजेट र दूरी पनि वर्षेनि बढ्दै गएको छ ।
बहुप्रतिक्षित यो लोकमार्गअन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा १५ ओटा पुल निर्माण गर्ने बजेटको रातो किताबमा उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित सो पुस्तकमा हालसम्ममा १ सय १० किमी सडक कालोपत्र भइसकेको उल्लेख छ । १ सय २४ किलोमिटर सडकको ग्राभेल भइसकेको र सम्पूर्ण ट्र्याक पनि खुलिसकेको उल्लेख छ । मेचीदेखि महाकालीसम्म पहाडैपहाड १ हजार ७ सय ६५ किलोमिटर लामो सडक निर्माण भइरहेको यो लोकमार्गको १ हजार ७९ किलोमिटर दुई लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ । करीब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्र्याक खोलेर शुरू भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको बताइएको छ ।
पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ ओटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिनेछ । यस क्रममा २ सय २५ ओटा बस्तीलाई छुने र ७० लाखभन्दा वढी जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ ।
यो लोकमार्गलाई २०६७ सालमा आएर राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिई प्राथमिकतामा राखिन थालेको थियो । यो लोकमार्गको निर्माणले गर्दा स्थानीय निकायलाई सहायक लोकमार्ग निर्माणका लागि मार्गप्रशस्त हुने र मुलुकका सबै गाविसमा सडक यातायात पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । यो लोकमार्गका कारण असन्तुलित बसाइँसराइँ रोकिने र आवत–जावतमा तराईवासीलाई पनि उत्तिकै सहज हुने अनुमान गरिएको छ ।
यो लोकमार्गलाई दु्रतरूपमा सम्पन्न गर्न पूर्वी खण्ड र पश्चिमी खण्डमा विभाजन गरी दुई छुट्टाछुट्टै आयोजना कार्यालयबाट धमाधम काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार राजधानी काठमाडौं नजिकै रहेको नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको सिमाना पाटीभञ्ज्याङदेखि पूर्वलाई एउटा खण्ड र पश्चिमलाई अर्को खण्डमा बाँडेर छुट्टाछुट्टै कार्यालय स्थापना गरी काम भइरहेको छ । पूर्वी खण्डको लम्बाइ ६ सय ५७ किलोमिटर र पश्चिम खण्डको लम्बाइ ११ सय ८ किलोमिटर छ ।
पश्चिम खण्डको शुरुआत काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोककोे सिमानामा पर्ने पाटीभञ्ज्याङबाट थालनी गरिएको छ । पाटीभञ्ज्याङदेखि नुवाकोटको छहरेसम्मको २८ किलोमिटर सडक खण्ड सबैभन्दा पछि निर्माण शुरू गरिएको हो । काठमाडौंको साँखुबाट पाटीभञ्ज्याङ ३८ किलोमिटर दूरीमा पर्छ । यो दूरी पहिले नै सडक यातायातले जोडिइसकेको छ । यसैगरी छहरे टोखादेखि २६ किलोमिटरको दूरीमा छ । यो सडकखण्ड पनि पहिले नै सडक यातायातले जोडिइसकेको छ । मध्यपहाडी लोकमार्गको पाटीभञ्ज्याङ–छहरे खण्डको निर्माण सम्पन्न भएपछि राजधानी काठमाडौं उपत्यकाको उत्तरी पहाडी क्षेत्र निकै सुगम हुने अपेक्षा गरिएको छ ।
छहरेबाट गँगटे, बटार हुँदै नुवाकोट जिल्ला सदरमुकाम त्रिशूलीसम्मको २१ किलोमिटर सडकखण्ड यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । टोखाबाट छहरेसम्मको २६ किलोमिटर दूरीलाई सुरुङमार्गबाट ४ किलोमिटर छोट्याउने गरी अध्ययन थालिसकेको छ ।
त्रिशूलीदेखि कल्याणपुर–सामरी हुँदै धादिङको फराकिलो उपत्यका सल्यानटारसम्मको ६६ किलोमिटर दूरीमा सडक यातायात सञ्चालन भइसकेको छ । सल्यानटारदेखि गोरखाको आरुघाट र पालुङटार हुँदै लमजुङको सुन्दरबजार र भोर्लेटारबाट पोखरासम्म ट्र्याक खुलिसकेको छ ।
यो लोकमार्गमा कहीँकहीँ भने सानातिना समस्या आइपरेको छ । मध्यमहाडी लोकमार्गले माथिल्लो अरुण, सुनकोशी तेस्रो, बूढीगण्डकी, नलसिंहगाडलगायत जलाशयुक्त आयोजना क्षेत्र भेट्ने भएकाले ऊर्जा मन्त्रालयले चासो देखाएको छ । यो लोकमार्गले काबेली, तमोर, तामाकोशी, सेती, बूढीगागा, पश्चिम सेतीलगायत जलविद्युत् आयोजना क्षेत्रलाई समेत जोड्नेछ ।
पुरानो सडकहरूलाई जोडदै मध्यपहाडी लोकमार्ग बनाउने लक्ष्य राखिएको भए पनि कतिपय स्थानमा पुराना सडक लोकमार्गका लागि उपयुक्त नभएकाले नयाँ ट्र्याक खोल्नुपरेको सडक विभागका प्रवक्ता दयाकान्त झाले बताए ।
योजनाकोे ८ वर्ष समाप्त हुँदा ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७१/७२ भित्र ८ सय १२ किलोमिटर सडक कालोपत्र गरिसक्ने र ९० ओटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा माटे सडक ६ सय ६ किलोमिटर, खण्डास्मित १ सय ९९ किलोमिटर र कालोपत्र ६७ किलोमिटर मात्र निर्माण भएको छ । यसैगरी २९ ओटा पुल निर्माण भएको, ३५ ओटा निर्माणाधीन र २६ ओटा डिजाइनमा रहेको भन्दै महालेखाले समयमै योजना सम्पन्न हुन नसक्ने देखाएको छ ।
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्नेछ । त्यस्तै, काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डँडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
यो लोकमार्गको मध्यबिन्दु नुवाकोटको पातीभञ्ज्याङलाई बनाइएको छ । शुरूमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो । लोकमार्गले गर्दा पूर्वाञ्चलमा चियोभञ्ज्याङ, च्याङथपु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोरनदी, सक्रान्ती बजार, म्याङलुङ, वसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (घुर्मी)को तीव्र शहरीकरण हुन थालेको छ । लोकमार्गले मध्यमाञ्चलका नेपालथोक, पाँचखाल, बाहुनेपाटी, पातीभञ्ज्याङ, छहरे, त्रिशूली र सल्यानटार पनि विकसित हुने अपेक्षा गरिएको छ भने पश्चिमाञ्चलमा भने आरुघाट, पालुङटार, भोर्लेटार, कालिका, हेम्जा, कुष्मा, बागलुङ, बुर्तिबाड र निसी ठूला बजारमा परिणत हुने अनुमान गरिएको छ ।
उता, मध्यपश्चिममा पातिहाल्ने, लुकुम गाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकान्ध, सातला र साइजिउला नगरोन्मुख हुनेछन् भने सुदुर पश्चिमको बेलखेत, विनायक, मङ्गलसेन, साँफेबगर, सिलगढी, डँडेलधुरा, पाटन, सतबाञ्झ, बैतडी र झुलाघाटको थप विकास हुने अपेक्षा सरकारी अधिकारीहरूको छ ।