काठमाडौैं । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडले चैत २३ गते विशेष साधारण सभा बोलाएको छ । चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रामदा होटल, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । यस अघि कात्तिक १९ गते कम्पनीले २७औं वार्षिक साधारण सभा सम्पन्न गरी सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
अंकित मूल्य १०० रुपैयाँ को शेयरपूँजीलाई ५० रुपैयाँ अंकित मूल्यमा विभाजन गर्ने प्रस्ताव समेत उक्त सभाले पारित गरेको थियो । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोग गर्ने र आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयका लागि कम्पनीले विशेष साधारण सभा आव्हान गरेको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १४ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।