चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ, क्षेत्रपुरको पुंगी खोला क्षेत्रका भौतिक संरचना भत्काउन थालेकोमा व्यवसायीले विरोध गरेका छन् । खोला मिचेर बनाइएका संरचना महानगरले बुधवारदेखि भत्काउन थालेको छ ।
नक्सा पास गरी संरचना बनाइएको, व्यवसायको कर तिर्दै आएको तर अहिले जानकारीविना नै भत्काएर थालिएको भन्दै व्यवसायी आक्रोशित बनेका छन् । महानगरले बुधवार नारायणगढस्थित लायन्सचोकको लायन्स भवन र क्षेत्रपुरस्थित साविक कालिका कन्स्ट्रक्सन रहेको दियालो फुडल्याण्डमा डोजर लगाएको थियो ।
स्थानीय हरि आचार्यले पालिकाबाट जग्गा पास भएर बनेका संरचनामा डोजर लगाउनु महानगरको बलमिच्याइँ भएको बताए । ‘नगरपालिकाबाट नक्सा पास गरी बनाइएका कुनै पनि भवन भत्काउँदा क्षतिपूर्ति दिनुपर्छ, यससम्बन्धी कानून नभए कानून बनोस्,’ उनले भने । कार्यालय, पसल तथा होटलभित्र रहेका सामान झिक्न नपाउँदै महानगरपालिकाले डोजर चलाएको व्यवसायी तथा स्थानीयको आरोप छ ।
कालिका कन्स्ट्रक्सनका कर्मचारी गणेश बरालले नक्सा पास भएका संरचना र उच्च अदालतमा मुद्दा चलिरहेको जग्गामा समेत सर्वसाधारणलाई आतंकित पार्नेगरी डोजर लगाएको टिप्पणी गरे ।
खोला अतिक्रमण गरिएका संरचना महानगरले भत्काउने भएपछि उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा परेको थियो । असोज ७ गते परेको पेशी महानगरले स्थगित गर्न लगाएर असोज ९ गते डोजर चलाएको बरालको गुनासो छ ।
‘दियालो फुडल्याण्ड २०५६ असार २३ गते भरतपुर महानगरपालिकाले नक्सापास गरेर निर्माण गरिएको हो । मालपोतबाट जग्गा पास गरेर लिएको जग्गा हो । हालसम्म पनि सो जग्गाको कर तिरिरहेका छौं,’ बरालले भने । दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले आफूहरूले व्यवसाय कर तिर्दै आएको भन्दै आर्थिक मन्दीका बेला महानगरले आतंकित पार्नु खेदजनक भएको बताए ।
भरतपुर महानगरपालिका, नक्सापास शाखाका प्रमुख सूर्यप्रकाश लामाले भने खोला अतिक्रमण गरी बनाइएका नक्सापास नभएका संरचना मात्र भत्काइएको दाबी गरे । ‘थोरै संरचनाको मात्रै नक्सापास गरिएको छ । अधिकांश संरचना खोला मिचेर अवैध रूपमा बनाइएको छ,’ उनले भने ।
भरतपुर महानगरपालिका–११ भोजाड गणेशस्थानबाट शुरू भएको पुंगी खोला वडा नं ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर लामो पुंगी खोलाको नक्सा अनुसार नापजाँच पूरा भएको छ ।
महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुंगी खोला कोरिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै आएको थियो । साथै गत साउन १२ गते यसबारे सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुंगी खोला तथा अन्य स्थानमा अवैध रूपमा बनाइएका घर टहरा लगायत संरचना भत्काउने निर्णय गरिएको थियो ।
महानगर प्रमुख रेनु दाहालले पुंगी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एकसाथ शुरू गरेको बताइन् । महानगरको गौरवको योजनामा समावेश भएको पुंगी खोला सीमांकन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ । उक्त क्षेत्रमा वृक्षरोपणका साथै फुट ट्रेल, रिटेनिङ वाल, रेलिङसहितका संरचना निर्माण गरिने जानकारी उनले दिइन् ।