विराटनगर। चार करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुनेगरी नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको भवनको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिकासँग सीमा जोडिएको बुढिगंगा गाउँपालिकाको वडा नं. २ स्थित टंकिसिनवारी चोकदेखि १ किलोमिटर पश्चिमको दूरीमा निर्माण हुने उक्त भवनको सोमवार शिलान्यास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल र महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भवनको शिलान्यास गरेका हुन् ।
२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अढाई तले भवनको अनुमानित लागत चार करोडभन्दा बढी रहेको छ । भवन निर्माणका लागि महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष राउतले शिलान्यास समारोहमा महासंघ, कोशी प्रदेश समितिका सचिवालयका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)लाई २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको सातौं प्रदेशसभा तथा भवन शिलान्यास समारोहमा उद्योग र व्यवसायीहरूले ९० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । अध्यक्ष राउतले आफ्नो तीनवर्षे कार्यकालको दुई वर्ष पूरा भइसकेको र बाँकी एक वर्षभित्र महासंघ, कोशी प्रदेशको भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।