काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बिहीवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले ९ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म कम्पनीले ३५ दशमलव ४१ प्रतिशत बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा कम भएकाले खुद नाफा बढ्न पुगेको हो । गत वर्ष २ करोड ६३ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम यस वर्ष २१ लाख ४८ हजार रुपैयाँ मात्र भएको हो ।
कम्पनीको वितरणयोग्य नाफा गत वर्षभन्दा यस वर्ष १०० दशमलव ५६ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ४० लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष १० करोड ८३ लाख रुपैयाँ कायम भएको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ३५ करोड ४२ लाख रुपैयाँभन्दा बढी कायम छ । तेस्रो त्रैमाससम्म ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले आफ्ना सदस्यहरूमा ४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी र विभिन्न बैंक तथा वित्तीय संस्थामा ७१ करोड ७८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष २ दशमलव ६३ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर यस वर्ष शून्य दशमलव ७८ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३८ रुपैयाँ कायम भएको छ ।