रूपन्देही । रूपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा ६ करोड रुपैयाँ लगानीमा बोधी भिल्ला ब्यांक्वेट सञ्चालनमा ल्याइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको ३ बिगाहा क्षेत्रफलमा स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठले रूपन्देहीकै ठूलो ब्यांक्वेट सञ्चालनमा ल्याएका हुन् । फरक शैलीको सुविधासम्पन्न ब्यांक्वेटमा एक पटकमा ५ हजार जनासम्मलाई सेवा दिन सकिने प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको सन्दर्भमा बुटवल तथा भैरहवा दुवै शहरका सेवाग्राहीका लागि मध्य भागमा सेवा दिने उद्देश्यले जिल्लाकै ठूलो ब्यांक्वेट र रक गार्डेन रेस्टुराँ सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘भविष्यमा सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पुल पनि सञ्चालन गर्ने लक्ष्य छ ।’ ब्यांक्वेट परिसरमा माछापालन गरिएको पोखरीमाथि पुल बनाएर मनमोहक दृश्य बनाइएको छ । ब्यांक्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका १ हजार वृक्षरोपण पनि गरिएको छ । ग्राहकले ‘फिसिङ’ गर्न र जिउँदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई ब्यांक्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्क रूपमा उपलब्ध गराएको कम्पनीका व्यवस्थापक छविलाल थापाले बताए । प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उक्त रेस्टुराँमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनशिप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रूपमा कार्यरत छन् । उनी समुद्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन् । ६ महीनासम्म परीक्षण सेवापछि प्रालिले होली पूर्णिमाको अवसर पारेर व्यावसायिक रूपमा सेवा सञ्चालन गरेको हो ।