काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ चैत १२ गते (मंगलवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बिहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि फागुन २७ गतेदेखि चैत ३ गतेसम्म १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । रितपूर्वक आवेदन दिएका १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । २०७३ फागुन २४ गतेको निर्णय अनुसार कम्पनीको नाम ओमेगा फर्मास्युटिकल्स प्रा.लिबाट ओम मेगाश्री फर्मास्युटिकल्सको नाममा संशोधन गरिएको हो ।
२०७९ असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतिमा प्रालिबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यो कम्पनी सञ्चालनमा छ । ६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँ नै छ ।
हाल कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ छ । सर्वसाधारणका लागि जारी गरिने १८ लाख कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ कायम हुनेछ । हाल ७० प्रतिशत संस्थापकतर्फको शेयर चुक्ता भएको कम्पनीको सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामितव कायम हुनेछ ।