काठमाडौं । मंगलवार (आज) नेप्से परिसूचक स्थिर बनेको छ । यो दिन नेप्से परिसूचक शून्य दशमलव ८५ अंक बढेर २ हजार ६७५ दशमलव ६२ विन्दुमा बन्द भएको हो ।
अघिल्ला चार कारोबार दिन २ हजार ७०० विन्दुमाथि पुगेर सोभन्दा तलकै विन्दुमा बन्द हुँदै आएको नेप्से मंगलवार २ हजार ६८४ दशमलव ७७ विन्दुसम्म पुगेको थियो भने २ हजार ६५५ दशमलव २९ विन्दुसम्म झरेको थियो ।
यो दिन ८५ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १६१ कम्पनीको धितोपत्र मूल्य घटेको छ । स्थिर बनेको बजारमा पाँच कम्पनीको शेयर मूल्य भने उच्च दरमा बढेको देखिन्छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक र भूगोल इनर्जीको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने पियोर इनर्जीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको देखिन्छ । पियोर इनर्जीको शेयर मूल्य पहिलो कारोबार दिन प्रतिकित्ता २८ रुपैयाँ ९० पैसाले बढेर अन्तिम शेयर मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ २० पैसा कायम भएको हो ।
यो दिन सर्वाधिक शेयर मूल्य घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड छ । पछिल्लो कारोबार दिन यस कम्पनीको शेयर मूल्य सर्वाधिक घट्दै आएकोमा मंगलवार पनि ७ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता १८८ रुपैयाँ ६९ पैसाले घटेर अन्तिम मूल्य २ हजार ४७४ रुपैयाँ ५१ पैसा कायम भएको हो ।
मंगलवार कारोबार रकम घटेको छ । सोमवार ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँभन्दा बढीको १ करोड ७१ लाख ६० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको १ करोड ४२ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजार स्थिर बन्न पुगेको जानकार बताउँछन् । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी वर्षको बजेटको प्रतीक्षामा लगानीकर्ता रहेको ब्रोकरहरूले अनुमान लगाएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै शेयर धितोकर्जाको जोखिम भार घटाएको अवस्थामा आगामी दिनमा बजेटले पनि बजारलाई सम्बोधन गर्ने आशामा लगानीकर्ता रहेको ब्रोकरहरूको बुझाइ छ । मंगलवारको कारोबारका आधारमा डोजी आकारको हरियो मैनबत्ती आकृति बनेको छ । जसले आगामी दिनमा पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहने संकेत गर्दछ ।
मंगलवार युनिभर्सल पावर कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ४१ पैसाले बढेर अन्तिम मूल्य ४५८ रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनभन्दा यो दिन युनिभर्सल पावरको शेयर मूल्य ७ दशमलव ११ प्रतिशत बढेको हो । मंगलवारको कारोबारमा विकास बैंक समूहको परिसूचक सर्वाधिक १ दशमलव ६६ प्रतिशत बढेको छ भने लघुवित्त समूहको सर्वाधिक १ दशमलव १३ प्रतिशत घटेको छ ।
यो दिन विकास बैंकसँगै बैंकिङको शून्य दशमलव ४० प्रतिशत, जलविद्युतको शून्य दशमलव १४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत र व्यापारिक समूहको परिसूचक शून्य दशमलव ९५ प्रतिशत बढेको छ ।
यस दिन कुल बजार पूँजीकरण ४४ खर्ब ५४ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो रकम ४४ खर्ब ५० अर्ब ७९ करोड ३० लाख रुपैयाँ थियो । यस दिन कुल बजार पूँजीकरण करीब ४ अर्बले घटेको हो ।