काठमाडौं। मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको ‘त्रिशूली बिच रिसोर्ट’सँग छूटसम्बन्धी सम्झौता गरेको छ । बैंकले रिसोर्टका विभिन्न सेवासुविधामा छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो । सम्झौतापश्चात् बैंकका ग्राहकले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य हुने डेबिट कार्ड तथा प्रिभिलेज कार्ड पेश गर्नुपर्ने अथवा बैंकको मोबाइल, इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्नेछ ।
साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ नारासहित साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको बताइएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छूटको व्यवस्था गरिएको बताइएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।