काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ९१ लाख घाटामा छ । अघिल्लो आवको चौथो त्रैमासमा पनि कम्पनी रू. ५ करोड ४२ लाख घाटामा थियो ।
गत आवमा सञ्चालन नाफा ऋणात्मक रहेकाले निष्क्रिय कर्जा बढेकाले कम्पनी घाटामा रहेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड २१ लाख ऋणात्मक छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा १४ दशमलव ४८ प्रतिशत रहेकोमा गत आवमा बढेर १८ दशमलव ४० प्रतिशत पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ९५ लाख ९१ हजारमा रहेकोमा गत आवमा बढेर रू. २ करोड ३ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २६ करोड २४ लाख छ । कम्पनीले शेयर प्रिमियममा रू. १ करोड १ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ३१ करोड २९ लाख ऋणात्मक छ ।
कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी ११ रुपैयाँ ०२ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू ३६ छ ।