गहना र नारी सौन्दर्यबीच गहिरो सम्बन्ध छ । नारीको सुन्दरतामा गहनाले थप निखार ल्याउँछ । त्यसैले, सौन्दर्य र नारीबीच गहनाले पुलको काम गरेको पाइन्छ । महिलाको सौन्दर्य वृद्धिमा गहनाको महत्त्वपूर्ण भूमिका हुन्छ । गहना धनसम्पत्तिको प्रमुख साधनसमेत हो । विवाहित हुन् वा अविवाहित, सबै नारी गहनाप्रति आकर्षित हुन्छन् ।
गहनालाई नारीको शोभा मानिन्छ । नेपाली समाजमा त यसको महत्त्व झनै बढी छ । हाम्रा समाजमा गहनाको सामाजिक, धार्मिक सांस्कृतिक एवम् आर्थिक महत्त्व रहिआएको छ । प्राचीन कालदेखि नै गहना नारी शृङ्गारको बलियो पक्षको रहँदै आएको छ । पछिल्लो समय गहनाको सञ्चयलाई आर्थिक सम्पन्नताको रूपमा समेत लिन थालिएको छ ।
नेपाली समाजमा परम्परादेखि नै विभिन्न आकर्षक गहनाको प्रयोग हुँदै आएको छ । त्यस्ता गहना महिलाले अरू समयमा नलगाए पनि चाडपर्वका अवसरमा भने उत्साहका साथ लगाउने गरेका छन् । अहिले नारीहरू गहनालाई अत्यावश्यक वस्तुको रूपमा धारण गर्छन् । कोही महिला आफ्नो सुन्दरता बढाउन गहनाको प्रयोग गर्छन् त कतिपय चाहिँ शौखका कारण पनि लगाउँछन् । बललिँदो समयसँगै सुनचाँदीको मूल्य बढेकोले महिलाहरू नक्कली गहनाप्रति पनि आकर्षित देखिन्छन् । यस्ता गहना हेर्दा सक्कलीजस्तो देखिन्छ । तुलनात्मक रूपमा निकै सस्तो र हलुका हुने भएकोले पनि यस्ता गहनाको प्रयोग बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
बजारमा विभिन्न किसिमका परम्परागत तथा आधुनिक गहना उपलब्ध छन् । महिलाले नियमित लगाउन प्रायःजसो नक्कली गहना र चाडपर्व तथा विवाहमा लगाउन सुन, चाँदी, हीरालगायतका गहना रुचाउँछन् । कतिपय महिलाले गहनालाई लगानीको माध्यम पनि बनाएका हुन्छन् । सुनचाँदी वा यसका गहना सञ्चय गरेर राख्ने र पछि आवश्यकता पर्दा बचेर आम्दानी लिनेको सङ्ख्या पनि बढी नै छ । महिलाहरू मूल्य घटेको बेला सुनचाँदी किनेर राख्ने र मूल्य बढेको बेला बेच्ने गर्छन् । यसबाट उनीहरूले राम्रो लाभ लिँदै आएका छन् ।
महिलाले लगाउने परम्परागत गहनामा तिलहरी, मारवाडी, फूली, बुलाकी, पोते, पाउजु, औँठी, बालालगायत पर्दछन् । यी गहना महिलाले नियमितजसो प्रयोग गरेको पाइन्छ । गहनाको डिजाइन समय समयमा परिवर्तन भइरहन्छ । यसको निर्माणमा भित्रिएका आधुनिक प्रविधिले डिजाइनको विविधता बढाउने गर्छ । परम्परागत गहनासँगै आधुनिक गहना भित्रिने क्रम पनि उत्तिकै छ । अहिले सबै जातजाति तथा समुदायका महिलाले सबैखाले गहना प्रयोग गर्छन् । गुरुङ समुदायको जन्तर, नेवार समुदायको शिरबन्दी र चन्द्रमा, थारू समुदायको बिच्छी र पाउजुजस्ता गहना सबै समुदायका महिलाले प्रयोगमा ल्याएका छन् । नेपाली
समाजमा लोकप्रिय केही गहनाहरू :
तिलहरी/पोते
विवाहित महिलाले घाँटीमा झुन्ड्याउने पोतेमा सुनको तिलहरी उनेर लगाउँछन् । बेहुलाले बेहुलीलाई तिलहरी लगाएर वैवाहिक बन्धनमा बाध्ने चलन चलिआएको छ । नेपाली समाजमा तिलहरी, नारीहरूको विशेष गहनाको रूपमा परिचित छ ।
फूली
हिन्दू नारीहरूले नाकमा लगाउने फूली एक विशेष प्रकारको गहना हो । सुनबाट फूल आकारमा बनेको हुनाले यसको नाम ‘फूली’ राखिएको हो । नेवार समुदायबाहेक अन्य सबै समुदायका नारीले यसको प्रयोग गर्छन् । फूली विभिन्न प्रकारका हुन्छन् । जस्तै– डल्ले फूली, झम्के फूली, नत्थी, तारे फूली । विवाहित तथा अविवाहित दुवै महिलाले यसलाई लगाउँछन् ।
पाउजु
पाउजु सुन वा चाँदीबाट बनाइएको हुन्छ । तर, सुनको पाउजुभन्दा चाँदीको पाउजु बढी प्रचलनमा छ । पाउमा लगाइने भएकोले यसको नाम ‘पाउजु’ रहेको हो विवाहित तथा अविवाहित दुवै महिलाले आफ्नो पाउको सौन्दर्य बढाउन यो लगाउँछन् ।
बाला
बाला हातमा लगाइने आभूषण हो । महिलाले इच्छाअनुसार विभिन्न आकर्षक डिजाइनका बाला लगाउँछन् । यसलाई विवाहित महिलाहरूले चुराको रूपमा प्रयोग गर्दै आएका छन् । यो सुन, चाँदी तथा अन्य बहुमूल्य धातुबाट तयार गरिन्छ । बाला विभिन्न प्रकारका हुन्छन् । नेपाली समाजमा बाघमुखे बाला बढी प्रसिद्ध छ ।
औंठी
पहिले पहिले बढी मात्रामा स्वयम्वरमा प्रयोग हुने औंठी पछिल्लो समय फेशनको रूपमा चलिआएको छ । औंठीलाई मानिसले आफ्नो राशिअनुसार विभिन्न पत्थर प्रयोग गरी लगाउँछन् । यसरी लगाउँदा व्यक्तिको ग्रहदोष काटिने ज्योतिषीय मान्यता छ । यो सुन, चाँदीलगायत धातुबाट तयार पाइन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.