काठमाडौं। नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीवार सम्पन्न बैंकको ४०औं वार्षिक साधारणसभाले उक्त नगद लाभांश पारित गरेको हो ।
साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात्् आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा अवधिमा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६ दशमलव ४१ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३ दशमलव ६५ प्रतिशत बढेर ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आव २०८०/८१ मा बैंकको वासलातको आकार १५ दशमलव ७६ प्रतिशतले बढेर ५ खर्ब ५७ अर्ब २ करोड पुगेको हो ।
साधारणसभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।
सभामा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाको अधिकार तथा चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए ।
नबिलले विगतका वर्षमा बाँडफाँट गरेको नगद लाभांश, बजार पूँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा शेयरधनीले बैंकमा शुरू लगानी गर्दाको स्थापनाकालको चुक्ता पूँजी हालसम्म ९६० गुणाले वृद्धि भएको बताइएको छ । बैंकले गतवर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मान प्राप्त गरेको बताइएको छ । त्यस्तै गरी बैंकले यो वर्ष आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । यी सम्मानले बैंकको उत्कृष्टता र समर्पणलाई प्रमाणित गरेको बैंकको भनाइ छ ।