काठमाडौं। नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल आन्त्रप्रेनरशिप’ फेलोशिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । यसअन्तर्गत सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ भदौ १४ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीन सोच भएका र उद्यम गर्न चाहिने शीप तथा तालीमको खोजीमा रहेका उद्यमीले आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महीनासम्म चल्ने बताइएको छ ।
आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालीम प्राप्त गर्नेछन् । तालीमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञ (मेन्टर)को सहयोगमा व्यवहारिक चुनौतीको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्ने बताइएको छ । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकको विश्वास छ । हालसम्म, नबिल एसएसईअन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालीम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापनापश्चात् रोजगारीका अवसर सृजना गरेको बताइएको छ ।