काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले जेठ ९ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष (आव) ०८०/८१ को वार्षिक साधारण सभा गर्न लागेको हो । सभाले गत आवको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गर्न लागेका छ । बुक क्लोजको अघिल्लो दिन वैशाख २९ गते सार्वजनिक विदा परेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।