काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी धितोपत्र दोस्रो बजारमा सूचीकरणको लागि तयारी गरिरहेको छ ।
विक्री प्रबन्धक एनआईएमबि क्यापिटलले फागुन २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकरणका लागि प्रक्रिया अघि बढेको जानकारी दिएको हो । कम्पनीको आईपीओ भाग्यमानी १ लाख ८४ हजार ५०० जना आवेदकहरूले १० कित्ताका दरले प्राप्त गरेका छन् ।
प्रतिकित्ता १०० रुपैयाँमा खरीद गर्न पाएका लगानीकर्ताले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार कति मूल्यमा गर्न पाउलान् भन्ने जिज्ञासा यतिबेला सबैमा देखिएको छ ।
लघुबीमा क्षेत्रको पहिलो कम्पनीको रूपमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत भएको थियो । प्रतिकित्ता १०० रुपैयाँमा गार्डियन माइक्रो लाइफको आईपीओ खरीद गर्न पाएका शेयरधनीहरूले पहिलो कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा गरेका थिए । यस कम्पनीको शेयर मूल्य निरन्तर बढेर प्रतिकित्ता २ हजार रुपैयाँभन्दा माथिसम्म पुगेको थियो ।
लघुबीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा धितोपत्र दोस्रो बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ पहिलो कारोबारका लागि धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ४० पैसासम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ ।
नेप्सेले हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गर्छ ।
नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा रहेको छ ।
यस कम्पनीको अधिकृत चुक्तापूँजी १ अर्ब रुपैयाँ छ भने जारी पूँजी ७५ करोड रुपैयाँ छ । कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी पूँजी बमोजिमको रकम सर्वसाधारणमा आईपीओ जारी गरी कायम गर्ने प्रतिवद्धताका साथ लाइसेन्स प्राप्त गरेको थियो ।
यस आधारमा कम्पनीले सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम भएको छ । कुल चुक्तापूँजीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ ।
लघु निर्जीवन बीमा व्यवसायी कम्पनीको रूपमा यो कम्पनी २०८० वैशाख २६ गतेदेखि सञ्चालनमा छ । अघिल्लो आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १७ लाख ९९ हजार रुपैयाँ सञ्चित मुनाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८० पैसा छ ।
गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफामा छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीले ६२ लाख ९ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।