काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वैदेशिक राजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा माग भन्दा ४ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अर्थात (माघ ११ गते) बिहान १०ः०६ बजेसम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
केयर रेटिङ कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।