काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार सोमवार सुरु हुन सकेन । कम्पनी सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चैत २१ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।
सोमवारबाट कारोबारयोग्य भएका कम्पनीको शेयर स्पेसल प्रि ओपनिङ सेसनमा कारोबार हुन नसक्दा नियमित सेसनमा कारोबार नभएको हो ।
सूचीकृत नयाँ कम्पनीको शेयर नियमित सेसनमा कारोबार हुनका लागि स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्ने हुन्छ । अब मंगलवार स्पेसल प्रि ओपनिङ सेसनमा कारोबार भए कम्पनीको शेयर कारोबार नियमित सेसनमा अघि बढ्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ४० पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा त्यसको तीन गुणासम्मको अधिकतम मूल्य पहिलो कारोबारका लागि तोकेको हो ।गत फागुन २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले करिब एक महिनामा शेयर सूचीकृत गरेको देखिन्छ ।
कम्पनीको कुल ७५ लाख कित्ता शेयर एनएमआईसी सिम्बोलबाट सूचीकृत छ । संस्थापक तर्फको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २२ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको यी शेयरमध्ये संस्थापक र सर्वसाधारणतर्फको कर्मचारी र सामूहिक लगानीकोष बाहेकका शेयर चैत २४ गतेदेखि कारोबारमा आउनेछन् ।
संस्थापक र कर्मचारीहरूले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म शेयर कारोबार गर्न नपाउने व्यवस्था छ भने सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर ६ महिनासम्म लइकनमा रहनेछ । लघु निर्जीवन बीमा व्यवसायी कम्पनीको रुपमा यो कम्पनी २०८० साल बैशाख २६ गतेदेखि सञ्चालनमा रहेको छ ।