काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीवार काठमाडौंमा सम्पन्न भएको हो ।
यो कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरूको भनाइ छ ।
कार्यक्रममा नेपाल तथा अन्तरराष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करीब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुब्बाले ल्याएका हुन् । यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो ।
‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले भने । कार्यक्रमले आफनो उद्देश्य प्राप्ति गरेको आयोजक संस्थाहरूको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई)को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो ।
कार्यक्रममा प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो र नेटवर्किङ सत्रहरू समेत सञ्चालन गरिएका थिए । यसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा एकआपसमा जडान गर्न प्लेटफर्म प्रदान गरेको बताइएको छ ।
नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ ।