काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पूँजीवृद्धि योजना पेश गर्न ढिलाइ गरेका छन् । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी हाल देशभित्र सञ्चालनमा छन् ।
नियामक निकाय प्राधिकरणले गत माघ १७ गते १ महीनाभित्र २० अर्ब रूपैयाँ चुक्तापूँजी कायम हुने गरी पूँजीवृद्धि योजना पेश गर्ने निर्देशन दिएको थियो । प्राधिकरणको त्यसअघिको निर्देशनअनुसार उनीहरूले २०८१ माघ मसान्तसम्म २० अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्नेछ । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १० अर्ब रुपैयाँ छ ।
प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले नेपाल पुनर्बीमा कम्पनीले हालसम्म पूँजीवृद्धि योजना पेश नगरेको जानकारी दिए । सरकारको समेत स्वामित्व रहेको उक्त कम्पनीले सरकारको स्वीकृतिपछि मात्र प्राधिकरणमा योजना पेश गर्ने गरी १ महीना थप गर्न माग गरेबमोजिम स्वीकृति दिएको लामिछानेले जानकारी दिए । कम्पनीको माग अनुसार थपेको १ महीना सकिए पनि पूँजीवृद्धि योजना पेश नभएको लामिछानेको भनाइ छ ।
नेपाल पुनर्बीमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले प्राधिकरणको निर्देशनबमोजिम पूँजी कायम गर्न सरकारको अनुमतिका लागि पेश गरेको जानकारी दिए । उनले संवेदनशील धितोपत्र बजारलाई असर गर्ने सूचनालाई आधिकारिक नभई सार्वजनिक गर्न नहुने भन्दै अर्थ मन्त्रालयमा पेश गरेको पूँजीवृद्धि योजनाबारे बोल्न चाहेनन् । नियामक निकायले आवश्यक ठानेरै अघि बढाएको पूँजीवृद्धि योजनालाई नेपाल पुनर्बीमा कम्पनीले पनि पूरा गर्ने भण्डारीको भनाइ छ ।
नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ दशमलव ०३९१ प्रतिशत शेयर स्वामित्व छ । यसमा सर्वसाधारणको १६ प्रतिशत शेयर स्वामित्व छ । यीबाहेक आइएमई लिमिटेड, विशाल ग्रूप, हाथवे इन्भेस्टमेन्ट, ज्ञान सेक्युरिटिज, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, गुहेश्वरी मर्चेन्ट, सुप्रिम सिमेन्टलगायत विभिन्न बीमा कम्पनीको समेत नेपाल पुनर्बीमा कम्पनीमा स्वामित्व छ ।
कम्पनीले थप पूँजीका लागि बोनस शेयर र हकप्रदलाई नै माध्यम बनाउने सम्भावना रहेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीले भने ४ प्रतिशत बोनस शेयरपछि ८० प्रतिशत हकप्रद शेयरमार्फत पूँजी बढाउने योजना अघि सारेको छ । हकप्रद र बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गत फागुन २० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गराइसकेको छ । बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको आधारमा हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १० शेयर बराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रदपछि पनि हिमालयनलाई थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ ।
हिमालयनले प्रिमियम मूल्यमा आईपीओ विक्री गरेकाले प्रिमियम रकमलाई शेयरमा पूँजीकरण गर्न सकिने व्यवस्था छ । तर, हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकाले कम्पनीले आधिकारिक निर्णय गर्न सकेको छैन । पछि उक्त व्यवस्था कार्यान्वयनमा आए कम्पनीले प्रिमियम बापतको रकमबाट बोनस शेयर जारी गर्नसक्ने प्राधिकरणले संकेत गरेको छ । हिमालयन रिइन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर विक्री गरेको थियो । प्रिमियमबापत कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको थियो ।