काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेले आर्थिक वर्ष (आव) २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले निर्जीवन र जीवन बीमा व्यवसायबाट कुल रू. १ अर्ब ८ करोड ८६ लाख नाफा आर्जन गरेको छ, जसमा निर्जीवन बीमा व्यवसायबाट रू. ९१ करोड २० लाख र जीवन बीमा व्यवसायबाट रू.१७ करोड ६६ लाख छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू.५६ करोड ५० लाख र जीवन बीमा व्यवसाय रू. १० करोड ८८ लाख खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको निर्जीवन व्यवसायतर्फको खुद बीमा शुल्क घटेको छ भने जीवन व्यवसायतर्फ बढेको छ । अघिल्लो वर्ष निर्जीवन बीमा व्यवसायबाट कम्पनीले रू. ८ अर्ब ८७ करोड बीमा शुल्क आर्जन गरेकोमा गत आवमा घटेर ५ अर्ब ५० करोडमा सीमित बनेको छ ।
त्यस्तै, अघिल्लो वर्ष जीवन बीमा व्यवसायबाट कम्पनीले रू. १ अर्ब ८८ करोड बीमा शुल्क आर्जन गरेकोमा गत आवमा बढेर रू. २ अर्ब १ करोड पुगेको छ ।
गत आवमा कम्पनीको दाबी भुक्तानी निर्जीवन व्यवसायतर्फ बढेको छ भने जीवन व्यवसायतर्फ घटेको छ । अघिल्लो वर्ष निर्जीवन व्यवसायतर्फ रू. ५ अर्ब ८ करोड दाबी भुक्तानी गरेकोमा गत वर्षमा बढेर रू. ५ अर्ब ४० करोड पुगेको छ । जीवन व्यवसायतर्फ भने अघिल्लो वर्ष रू. १ अर्ब ४६ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत वर्ष बढेर रू. १ अर्ब ४४ करोडमा झरेको छ ।
चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड रहेको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ३ अर्ब ४३ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ रू. ७१ करोड १९ लाख छ । अघिल्ला वर्ष निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ६ अर्ब १३ करोड र जीवन व्यवसायतर्फ रू. ६९ करोड ७६ लाख थियो ।
गत आवमा कम्पनीको बीमा कोषमा रू. ३ अर्ब ४७ करोड छ । अघिल्लो वर्ष बीमा कोषमा रू. २८ करोड ४७ लाख थियो ।
गत आवको चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक रू. ८ दशमलव ५० रुपैयाँ, मूल्य आम्दानी अनुपात ८६ दशमलव ४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५९ रुपैयाँ छ ।