मुगु । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सीमावर्ती जिल्लाका लागि हाटबजार शुरू गरेको छ । उक्त स्थानमा चीन सरकारले हरेक वर्ष साउनको अन्तिम साता हाटबजार लगाउने परम्परा छ । तिब्बतसँग जोडिएका जिल्लासँग व्यापारका लागि सामान आयात–निर्यात तथा जडीबुटी विक्री गर्न वषौंदेखि अस्थायी रूपमा १ हप्ताका लागि नाका खुला गर्ने प्रचलन यहाँ छ । यो बेला हुम्ला, मुगु, डोल्पा, दार्चुला, रसुवा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, गोर्खा र ताप्लेजुङमा तिब्बतले नाका खुलाउने गर्दछ । यीमध्ये केही जिल्लामा बाह्रैमास नाका खुला हुन्छ ।
हुम्ला, मुगु, डोल्पालगायत जिल्लामो हिउँ अत्यधिक हुने कारण तिब्बतल महीनामा १ हप्ता नाका खोल्ने गरेको छ । मुगुमा सदरमुकाम गमगढीभन्दा करीब ४५ कोस टाढा रहेको नाक्चे लाङ्ना (नाम्जा भञ्ज्याङ)लगत्तैको तिब्बतको सीमावर्ती जिल्लामा मङ्गलवारदेखि एकहप्ते हाटबजार शुरू भएको हो । जिल्लाका सीमावर्ती गाविस दोल्फु, किम्री मुगु, पुलु, माग्री र मुगु तथा बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासी यो वर्षको हाटबजारमा व्यापार गर्न गएको मुगु भन्सार कार्यालयले जानकारी दिएको छ ।