काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यस दिन नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्नका लागि अन्तिम दिन आज हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले भोलि अर्थात पुस १८ गते बुक क्लोज गर्दैछन् । सोहीअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
टेलिकमले यही पुस २८ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
गरिमा विकास बैंक लिमिटेडले यही पुस २९ गते कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
बुटवल पावर कम्पनीले यही पुस २८ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा ३२ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिमा हस्तान्तरण गर्ने, चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावर लिमिटेडमा हस्तान्तरण गर्ने, धितोपत्रको थप सार्वजनिक निष्कासनको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।