बजार परिसूचक ७ सय ७१
पुस १, काठमाडौं । सोमवार नियमित समयभन्दा १ घण्टापछि शुरू भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा पूरा १ घण्टा पनि कारोबार हुन पाएन । तर, जम्मा ४८ मिनेट मात्रै कारोबार हुँदा पनि समग्र पूँजीबजारको दर्पण मानिने नेप्से परिसूचक भने झण्डै ३८ अङ्क बढ्यो । नेपाल स्टक एक्सचेञ्जको सर्भरमा समस्या देखिएपछि कारोबार १ घण्टापछि मात्रै शुरू भएको थियो । तर, छोटो समयमै सूचीकृत कम्पनीहरूको मूल्य उच्च दरले बढे पनि बजार सञ्चालकले सर्किट ब्रेकर लगाउँदा बाँकी समय पनि पूरा कारोबार हुन पाएन । यद्यपि बजारमा शेयरको आपूर्तिभन्दा माग अत्यधिक भएकाले निकै कम समयमा पनि बजार परिसूचक उच्च अङ्कले बढेको हो ।
साधारणतया दिउँसो १२ बजेदेखि ३ बजेसम्म ३ घण्टा सञ्चालन हुने शेयरबजार सोमवार भने १ घण्टा पनि चल्न सकेन । कारोबार शुरू भएको २१ मिनेट नबित्दै बजार परिसूचक ३ प्रतिशतले बढेपछि बजार सञ्चालक नेप्सेले सर्किट ब्रेकरमार्फत १५ मिनेटका लागि कारोबार बन्द गर्यो । सो अवधिमा बैङ्किङ समूहका अधिकांश कम्पनीको शेयरमूल्य लगभग १० प्रतिशतले बढेको थियो । यसरी शेयर मूल्य बढ्नाका कारणबारे जानकारहरूले फरकफरक धारणा व्यक्त गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाहरूको बाहुल्य रहेको नेपाली शेयरबजारमा बैङ्किङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैङ्कले वित्तीय स्थायित्व कायम गर्न र प्रणालीलाई थप सबल बनाउन नयाँ र सुधारिएको लेखा विधि ‘बासेल थ्री’ लागू गर्न दिएको निर्देशनले बैङ्किङ समूहका कम्पनीको शेयरमूल्य बढेको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमल्सिना । उनका अनुसार उक्त नीति लागू भएपछि बैङ्कहरूले चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्नेछ, त्यसका लागि बैङ्कहरूले नगद लाभांशभन्दा हकप्रद शेयर वितरण गर्ने विश्वासका साथ लगानीकर्ताहरू उत्साहित बनेका हुन् ।
सोमवार कारोबारमा आएका सात समूहमध्ये बैङ्किङ समूहको परिसूचक सर्वाधिक ७ प्रतिशतले बढ्यो । उक्त समूहमा सूचीकृतमध्ये बैङ्क अफ काठमाण्डू, नेपाल बङ्गलादेश बैङ्क, ग्राण्ड बैङ्क र किष्ट बैङ्कको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी १ बजेर ३६ मिनेटमा खुलेको बजार १ बजेर ५४ मिनेट जाँदा ४ प्रतिशतको वृद्धि भएपछि दोस्रोपटक आधा घण्टाका लागि सर्किट ब्रेक लाग्यो । त्यसपछि २ बजेर २४ मिनेटमा खुलेको बजार १० मिनेट पनि कारोबार हुन नपाउँदै २ बजेर ३२ मिनेट जाँदासम्म ५ प्रतिशतको बढेपछि दिनभरिका लागि कारोबार बन्द हुन पुग्यो । पटकपटकको सर्किट ब्रेकरका कारण सोमवार बजार परिसूचक बढे पनि कारोबार रकम भने बढ्न सकेन ।
बजार तीव्र रूपमा बढेकोबारे ओपल सेक्यूरिटिज इन्भेष्टमेण्ट कम्पनीका सञ्चालक नवराज पोख्रेलको भनाइ भने अलि फरक छ । बजार बढ्नुमा कुनै एउटा निश्चित कारण नभएको उनी बताउँछन् । मुलुकको राजनीतिक वातावरण, राष्ट्र बैङ्कले लागू गर्न लागेको नयाँ नीति, बैङ्किङ प्रणालीमा थुप्रिएको तरलता, विप्रेषण आप्रवाहलगायत अन्य थुप्रै कारणले बजार बढ्न मद्दत गरेको उनले बताए । ‘यतिबेला आम मानिसले पनि शेयरबजारप्रति चासो देखाउन थालेका छन्,’ उनले भने, ‘यसले पनि बजार बढ्नमा सहयोग पुर्याएको छ ।’कारोबार शुरू भएदेखि नै लगातार बढेको नेप्से अन्तिम समयसम्म पुग्दा फराकिलो अङ्कको वृद्धिसहित बन्द भयो । आइतवार १९ दशमलव ३३ अङ्कले बढेर ७ सय ३३ दशमलव २५ बिन्दुमा पुगेको नेप्से सोमवार भने ३७ दशमल ९५ अङ्क (५ दशमलव १८ प्रतिशत) बढेर ७ सय ७१ दशमलव २ बिन्दुमा पुगेको छ । सोमवार नेप्से परिसूचकको थपघट अनुपात (ऐडी रेशियो) १२ दशमलव २९ छ भने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ९० दशमलव ४५ स्केलमा छ ।
सो दिन कारोबारा आएका ९६ मध्ये ८६ कम्पनीको शेयरमूल्य बढ्यो भने सात कम्पनीको शेयरमूल्य घट्यो । बाँकीको शेयरमूल्य स्थिर रह्यो । बैङ्क अफ काठमाण्डू, एभरेष्ट, कुमारी, माछापुच्छ्रे, प्राइम कमर्शियल, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, मेगा, इन्भेष्टमेण्टलगायत वाणिज्य बैङ्कहरूको शेयरमूल्य उच्च दरमा बढेपछि यस समूहको परिसूचक ६ दशमलव ९८ प्रतिशतले बढ्यो । चिलिमे तथा बुटवल पावर कम्पनीको शेयरमूल्य बढेपछि जलविद्युत् समूहको परिसूचक पनि ४ दशमलव ८३ प्रतिशतले बढ्यो । त्यसैगरी क्लीन इनर्जी, छिमेक, साना किसानलगायत विकास बैङ्कको शेयरमूल्य बढेपछि विकास बैङ्क समूहको परिसूचक ३ दशमलव शून्य ८ प्रतिशतले बढ्यो । त्यस्तै, होटल समूह २ दशमलव ५८, बीमा समूह २ दशमलव ३६ तथा ‘अन्य’ समूहको परिसूचक २ दशमलव ७६ प्रतिशतले बढ्यो । तर, वित्त कम्पनी समूहको परिसूचक भने सामान्य अङ्कले मात्र बढ्यो ।
सोमवार १ हजार ३ सय ४२ थान व्यापारबाट ९६ कम्पनीका ६ लाख ७३ हजार कित्ता शेयर खरीद विक्री भयो । सोबाट रू. ३३ करोड १४ लाखबराबरको रकम परिचालन भयो भने ७ खर्ब ८२ अर्बको कूल बजार पूँजीकरण भयो । सो दिन अधिकांश कम्पनीको शेयरमूल्य सर्वाधिक बढे पनि शुभेच्छा विकास बैङ्कको शेयरमूल्य भने ७ दशमलव ५१ प्रतिशतले घट्यो । नेपाल बङ्गलादेश बैङ्कको सर्वाधिक रू ४ करोड ६३ लाखको शेयर कारोबार भयो ।